
नयाँ दिल्ली, ०५ नोभेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान गुरु नानक जयन्ती तथा प्रकाश पर्वको अवसरमा सम्पूर्ण देशबासीलाई बधाई दिएका छन्। प्रधानमन्त्रीले आफ्नो एक्स ह्यान्डलमा लेखेका छन्, ‘‘श्री गुरु नानक देव जीको जीवन र सन्देश शाश्वत ज्ञानका साथ मानवताको मार्गदर्शन गर्दै आइरहेका छन्। करुणा, समानता, विनम्रता र सेवाका उहाँका शिक्षाहरू अत्यन्त प्रेरणादायी छन्। उहाँको प्रकाश पर्वमा हार्दिक शुभकामना। उहाँको दिव्य ज्योति सधैं हाम्रो पृथ्वीलाई प्रकाशित गरिरहोस्।’’
प्रधानमन्त्रीले एक्समा अर्को सन्देशमा देशबासीलाई देव दीपावली र कार्तिक पूर्णिमाको पनि शुभकामना दिएका छन्। उनले लेखेका छन्, ‘‘देशका सबै परिवारजनलाई कार्तिक पूर्णिमा तथा देव दीपावलीको कोटि-कोटि शुभकामना। भारतीय संस्कृति र अध्यात्मसँग जोडिएको यो दिव्य अवसर सबैका लागि सुख, शान्ति, आरोग्य र सौभाग्य लिएर आओस्। पवित्र स्नान, दान–पुण्य, आरती र पूजनसँग सम्बन्धित हाम्रो यो परम्परा सबैको जीवनलाई प्रकाशित गरोस्।’’
प्रधानमन्त्रीको बधाईअघि राष्ट्रपति द्रौपदी मुर्मु, लोकसभा अध्यक्ष ओम बिरला, गृह तथा सहकारी मन्त्री अमित शाह र भारतीय जनता पार्टी (भाजपा) ले पनि गुरु नानक जयन्तीको अवसरमा देशबासीलाई शुभकामना दिएका छन्।
राष्ट्रपतिले आफ्नो आधिकारिक एक्स ह्यान्डलमार्फत लेखेकी छन्, ‘‘गुरु नानक जयन्तीको पावन अवसरमा देश र विदेशमा रहेका सबै भारतीयहरूलाई, विशेषगरी सिख भाइबहिनीहरूलाई हार्दिक बधाई दिन्छु।’’
भाजपाले पनि आफ्नो एक्स ह्यान्डलमा लेखेको छ, ‘‘सिख धर्मका संस्थापक तथा प्रथम गुरु, गुरु नानकदेव जीको प्रकाश पर्वको हार्दिक शुभकामना।’’
लोकसभा अध्यक्ष ओम बिरलाले गुरु नानक जयन्तीको पूर्वसन्ध्यामा शुभकामना दिंदै भने, ‘‘सिख धर्मका संस्थापक, प्रथम पातशाही श्री गुरु नानक देव जीको प्रकाश पर्वमा हार्दिक शुभकामना तथा कोटि-कोटि नमन। गुरु नानक देव जीले मानवता, समानता र सत्यका आदर्शहरूले विश्वलाई आलोकित गर्नुभयो। उहाँका उपदेशहरूले समाजमा करुणा, सेवा र सह-अस्तित्वको भावना जागृत गराएका छन्।’’
उनले थपे, ‘‘गुरु नानक देव जीले धर्मलाई मानव कल्याणको माध्यम बनाएका छन्। जाति, पन्थ र भेदभावभन्दा माथि उठेर मानवतालाई एक सूत्रमा बाँध्ने सन्देश दिनुभयो र कर्मयोग तथा सत्कर्मलाई जीवनको सार बताउनुभयो। गुरु साहिबका पावन शिक्षाहरू युगौँ-युगौँसम्म हामीलाई सत्य, प्रेम र निस्वार्थ सेवाको मार्गमा अघि बढाइरहोस् भन्ने प्रार्थना गर्दछु।’’
गृह तथा सहकारी मन्त्री अमित शाहले पनि देशबासीलाई प्रकाश पर्वको बधाई र शुभकामना दिएका छन्। उनले एक्समा लेखेका छन्, ‘‘विश्व र समाजलाई शान्ति, प्रेम, समानता र मानवताको सन्देश दिने सिख धर्मका संस्थापक श्री गुरु नानक देव जीको प्रकाश पर्वको हार्दिक शुभकामना। गुरु नानक देव जीले एकातिर भक्ति जीवनको मूल मन्त्र भएको बताउनुभयो भने अर्कोतिर अन्याय र अत्याचारको निर्भीकताका साथ सामना गर्न प्रेरणा दिनुभयो।’’
अमित शाहले भने, ‘‘उहाँले सामाजिक समानताको लागि लंगर परम्पराको सुरुवात गर्नुभयो र धर्मशालाहरूको स्थापना गरेर करुणा तथा संवेदनाको बाटो प्रशस्त गर्नुभयो। उहाँका आदर्शहरूले हरेक परिस्थितिमा मानव जीवनलाई सही दिशा देखाइरहेका छन्।’’
हिन्दुस्थान समाचार / भवानी थामी