
गान्तोक, 9 नोभेम्बर (हि.स.)। राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) स्थापना भएको 100 वर्ष पूर्ण भएको अवसरमा आइतवार गान्तोक छेउ रानीपुलस्थित केन्द्रिय कृषि विश्वविद्यालयको प्रेक्षागृहमा प्रमुख नागरिक संगोष्ठी आयोजना गरियो। संघ शताब्दी वर्षको एक भागको रूपमा आयोजना गरिएको यस कार्यक्रममा संघका अखिल भारतीय सह सरकार्यवाह रामदत्त चक्रधर मुख्य वक्ताका रूपमा उपस्थित थिए।
कार्यक्रम आयोज गर्नुको उद्देश्य गान्तोकको बौद्धिक समाजमा संगठनको बारेमा जागरूकता जगाउनु थियो। कार्यक्रममा नागरिक समाजका विशिष्ट व्यक्तिहरू, उपकुलपतिहरू, डीनहरू, प्राध्यापकहरू, विभिन्न शैक्षिक संस्थानका शिक्षकहरू, सेवानिवृत्त र सेवारत आईएएस, आईएफएस अधिकारीहरू, चिकित्सकहरू, वकिलहरू, वैज्ञानिकहरू, सरकारी विभागहरूका वरिष्ठ अधिकारीहरू, विभिन्न संगठनका प्रतिनिधिहरू आदिको उपस्थिति थियो।
कार्यक्रम दुई सत्रमा आयोजना गरिएको थियो, जस अन्तर्गत पहिलो सत्रमा मुख्य वक्ता सह सरकार्यवाह रामदत्त चक्रधरले आफ्नो सम्बोधन राखेका थिए। यसरी नै दोस्रो सत्रमा उपस्थित व्यक्तिहरूसँग अन्तरक्रिया सम्पन्न गरियो।
सह सरकार्यवाह रामदत्त चक्रधरले आफ्नो सम्बोधनमा सन् १९२५ मा केही व्यक्तिहरूद्वारा शुरु भएको संस्था आज कसरी विश्वको सबैभन्दा ठूलो संस्था बन्न पुग्यो भन्ने कुरामाथि प्रकाश पारे। उनले हाम्रो देशलाई एक महान राष्ट्र बनाउन देशभक्ति र आत्मसम्मानको भावना विकास गर्न संघ शुरु गरिएको हो भनी स्पष्ट पारे। उनले वर्तमान समयमा संघ 42 वटा संस्था तथा स्थानीय र राज्यस्तरमा 400 भन्दा बढी संस्थामा फैलिएको जानकारी गराए।
उनले युद्ध र अन्य विपत्ति जस्ता विभिन्न संकटहरूमा संघले राष्ट्रको सेवा कसरी गरेको छ भन्ने कुरा पनि बताएका थिए। उनले पञ्च प्रणको रूपमा संघले लिएका ५ वटा पहलहरूको बारेमा पनि जानकारी गराए, जसमा परिवार प्रबोधन, पर्यावरण संरक्षण, स्वाभिमान, स्वदेशी र सामाजिक उत्तरदायित्व (नागरिक कर्तव्य) समावेश छन्।
सम्बोधनपछि कार्यक्रममा उपस्थित व्यक्तिहरूसँग अन्तरक्रिया गर्दै सह सरकार्यवाह रामदत्त चक्रधरले विभिन्न जिज्ञासाहरूको उत्तर दिएका थिए। कार्यक्रममा आरएसएस सिक्किमका पदाधिकारीहरू र स्वयंसेवकहरू पनि उपस्थित थिए।
हिन्दुस्थान समाचार / बिशाल