मङ्गर समाज नाम्ची जिल्लाद्वारा किच्चुडुम्रा जैवविविधता उद्यानमा बाराहिमिजोङ पर्व मनाइयो
मङ्गर समाज नाम्ची जिल्लाद्वारा किच्चुडुम्रा जैवविविधता उद्यानमा बाराहिमिजोङ पर्व मनाइयो


नाम्ची, 10 दिसम्बर (हि.स.)। मङ्गर समाज नाम्ची जिल्लाले बाराहिमिजोङ पर्व कामराङस्थित किच्चुडुम्रा जैवविविधता उद्यानमा सांस्कृतिक गर्व र श्रद्धासाथ मनायो। कार्यक्रममा माम्ले, कामराङ, आसाङथाङ, वक, चियाडाँडा तथा सम्पूर्ण नाम्ची ब्लकका मङ्गर समुदायका सदस्यहरूको उत्साहजनक सहभागिता रह्यो।

कार्यक्रमका प्रमुख अतिथि शहरी विकास विभागका मन्त्री तथा क्षेत्रीय विधायक भोजराज राई रहेका थिए भने विशेष अतिथिका रूपमा सिक्किम विधानसभाकी उपाध्यक्ष राजकुमारी थापा उपस्थित थिइन्। कार्यक्रममा अखिल सिक्किम किच्चुडुम्रा जैवविविधता संघ (आसमा) दक्षिण जिल्लाका सल्लाहकार तथा पदाधिकारीहरू पनि सहभागी थिए।

यस अवसरमा किच्चुडुम्रा जैवविविधता समाजले समुदायको उत्थानतर्फ पुर्‍याइरहेको योगदानका लागि मन्त्री भोजराज राई र उपाध्यक्ष राजकुमारी थापालाई सम्मानित गऱ्यो।

कार्यक्रममा आसमा दक्षिण जिल्लाका कोषाध्यक्ष डीबी थापाले माङ्गर समुदायको इतिहास र संस्कृति सम्बन्धी संक्षिप्त जानकारी प्रस्तुत गरे। उनले कामराङ मङ्गरजोङजस्तो सांस्कृतिक महत्त्व बोकेको ऐतिहासिक स्थलको संरक्षण र प्रवर्द्धन यो कार्यक्रममा प्रमुख उद्देश्य रहेको बताए। यस स्थानलाई नामग्याल वंशपूर्व मङ्गर राजा (मुखिया) दलसिहं मङ्गरको शासन क्षेत्र मानिने गरिन्छ।

कार्यक्रममा समुदायले नयाँ बाली तथा अन्न अर्पण गरी राम्रो फसलप्रति कृतज्ञता व्यक्त गर्दै आशीर्वाद माग्ने धन्यवाद पूजाको पनि आयोजना गरिएको थियो। उत्सवमा पूजा, सांस्कृतिक प्रस्तुति, गीत तथा मनोरञ्जनात्मक गतिविधिहरू, जस्तै ‘म्युजिकल चेयर’ प्रतियोगितासमेत राखिएको थियो। पूजा माम्लेबाट आएका भुसाल अमृतलाल मङ्गर तथा उनकी टोलीले सम्पन्न गरेका थिए।

सम्बोधनको क्रममा विधानसभा उपाध्यक्ष राजकुमारी थापाले पर्वको आध्यात्मिक महत्त्वलाई जोड दिँदै भनिन्, “बाराहिमिजोङ आस्था, एकता र कृतज्ञताको पर्व हो, जहाँ हामी बाराही देवताप्रति प्रार्थना अर्पण गरी दिव्य आशिष र संरक्षण कामना गर्छौँ। यहाँ देखिएको सामूहिक सहभागिता र सांस्कृतिक एकता अत्यन्त प्रेरणादायी छ। म मङ्गर समुदाय तथा शुभेच्छुकहरूलाई हार्दिक शुभकामना दिन चाहन्छु। यो पवित्र पर्वले सबैमा समृद्धि, खुशी र सद्भाव ल्याओस्।”

त्यसैगरी मन्त्री भोजराज राईले मङ्गर समुदायको सांस्कृतिक सम्पदा जगेर्नामा आयोजकहरूको प्रयासको प्रशंसा गर्दै महत्वपूर्ण परम्परागत उत्सवलाई निरन्तरता दिन गरिएको पहल सराहनीय रहेको बताए। उनले समुदाय तथा स्थानीय जनतालाई आफ्नै पहलबाट सांस्कृतिक पहिचान र आस्थाको संरक्षणमा सक्रिय हुन आग्रह गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande