
खरसाङ, 10 दिसम्बर (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीको अनुप्रेरणामा र खरसाङ नगरपालिकाको आयोजनामा खरसाङ महकुमा अस्पतालमा 5 रुपियाँमा भरपेट खाना पाइने माँ क्यान्टिन शुरु गरिएको छ। खरसाङ महकुमा अस्पतालमा शुरु गरिएको उक्त माँ क्यान्टिनको उद्घाटन आज खरसाङ महकुमा शासक आईएएस प्रिया यादव, खरसाङ नगरपालिकाका चेयरम्यान ब्रिगेन गुरुङ र अन्यको बाहुलीबाट गरियो।
यो क्यान्टिन अब दिउँसो 12 देखि 2-3 बजीभित्र दिइने व्यवस्था गरिने भएको छ भने दिउँसो र बेलुकाको लागि पनि व्यवस्था गरिने बताइएको छ। उक्त माँ क्यान्टिन खरसाङ नगरपालिकामा पहिले नै शुरु गरिएको थियो भने अहिले महकुमा अस्पतालमा पनि शुरु गरिएको छ। यसका साथै खरसाङ महकुमा अस्पतालमा राति बिमारी हेर्न बस्नेहरुका लागि कम मूल्यमा सेल्टर होम पनि सञ्चालन गरिएको जानकारी प्राप्त भएको छ।
यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ नगरपालिकाका भाइस चेयरम्यान सुवास प्रधानले मुख्यमन्त्री ममता ब्यानर्जीको सहयोगमा राज्यभरि नै मॉं क्यान्टिन सञ्चालन भइरहेको र यता खरसाङ नगरपालिकामा पनि क्यान्टिन सञ्चालन भइरहेको बताए। यस क्रममा आजदेखि खरसाङ महकुमा अस्पतालमा क्यान्टिन शुरु गरिएको र अब दिउँसो र बेलुका 5 रुपियाँमा खाना उपलब्ध गराइने उनले जानकारी गराए।
उनले खरसाङ महकुमा अस्पतालमा बिमारी हेर्न बसेकाहरुलाई सहयोग होस् भनेर यहाँ कम मूल्यमा सेल्टर होम पनि सञ्चालन गरिएको बताए। उनले यो जीटीए प्रमुख अनित थापाले सरकारसित मिलेर काम गरेकोले सम्भव भएको हो भनी बताए।
हिन्दुस्थान समाचार / हनोक