महानदी हाई स्कूलका प्रधान अध्यापक महेन्द्र छेत्री सम्मानित
महानदी हाई स्कूलका प्रधान अध्यापक महेन्द्र छेत्री सम्मानित


खरसाङ, 10 दिसम्बर (हि.स.)। महानदी हाई स्कूलका प्रधान अध्यापक एवं सिविटार निवासी महेन्द्र छेत्रीलाई सम्मान जनाइएको छ।‌ टेक्नो इण्डियाद्वारा केही समय अघि कोलकातामा महानदी हाई स्कूलका प्रधान अध्यापक महेन्द्र छेत्रीलाई द्रोणाचार्य अवार्डद्वारा सम्मानित गरिएको थियो।‌

उनको यस सम्मानको लागि महानदी ग्राम पञ्चायतको संसद तीन, सिविटार क्षेत्रका पञ्चायत सदस्य राजीव तामाङको तर्फबाट छेत्रीलाई सम्मान जनाइयो। यस अवसरमा उनलाई नवदीप क्लब सिविटारका सदस्य राजेन्द्र प्रधानको बाहुलीबाट खदार्पण र टोपी पहिराइयो। त्यसरी नै समाजसेवी सूर्यनारायण प्रधानको बाहुलीबाट दोसल्ला ओढाइयो भने पञ्चायत सदस्य राजीव तामाङले सम्वर्द्धना पत्र प्रदान गरे।

नवदीप क्लब सिविटारका सचिव मौसम नेवारले सञ्चालन गरेको कार्यक्रममा पञ्चायत सदस्य राजीव तामाङले वक्तव्य राख्दै प्रधान अध्यापक महेन्द्र छेत्रीलाई द्रोणाचार्य अवार्डको लागि बधाई दिए। उनले महानदी हाई स्कूलबाट माध्यमिक र उच्च माध्यमिक परीक्षामा उच्च अंक प्राप्त गर्ने विद्यार्थीलाई‌ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

यस कार्यक्रममा‌ डीएचआरद्वारा‌ आयोजित कार्यक्रममा महानदी हाई स्कूलकी‌ दशौँ श्रेणीकी विद्यार्थी शुभेच्छा राईले स्कलरशीपको परीक्षामा उच्च अंक प्राप्त गरेर क्विन अफ् हिलको टाइटल जितेकोमा खदार्पण गरेर बधाई दिइयो। यसरी सम्मान प्रदान गरेकोमा प्रधान अध्यापक महेन्द्र छेत्रीले उपस्थित सबै ग्रामवासीलाई धन्यवाद दिएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande