
गान्तोक, 10 दिसम्बर (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीले जल जीवन मिसन अन्तर्गत सिक्किम राज्यले करोड़ौं रूपियॉं प्राप्त गरेको भए तापनि 'हर घर नल, नल में जल' किन पुग्न सकेको छैन भनी प्रेश्न गरेको छ। एसडीएफले जल जीवन मिसन कामको प्रगति र खपत भएको रकमको तथ्याङ्कसहित व्हाइट-पेपर सार्वजनिक गर्न माग गरेको छ।
एसडीएफ प्रचार प्रचार वरिष्ठ उपाध्यक्ष कृष्ण खरेलले आज जारी एक प्रेस विज्ञप्तिमा सिक्किमले जल जीवन मिसन अन्तर्गत करोड़ौं रूपियॉं प्राप्त गरेको दाबी गरेका छन्। उनले राज्य सभामा सांसद डीटी लेप्चाले सोधेको प्रश्नको जवाफमा केन्द्रिय जलशक्ति राज्यमन्त्री राजभुषण चौधरीले जल जीवन मिसन अन्तर्गत वर्ष २०२०-२१ र २०२४-२५ मा सिक्किम राज्यले १,०५४.३७ करोड़ रूपियॉं प्राप्त गरेको जानकारी गराएको उल्लेख गरेका छन्।
राज्यले यति धेरै रकम पेयजल परियोजनामा प्राप्त गरेर पनि आजसम्म 'हर घर नल, नल में जल' किन पुग्न सकेको छैन? भनी उनले प्रश्न गरेका छन्। उनले पुरानै पानीका ट्याङ्कीहरूलाई लिपपोत गरेर नयाँ ट्याङ्कीको रुपमा प्रस्तुत गरेको सर्वत्र गाउॅंले जनताको गुनासो रहेको पनि उनले आरोप लगाएका छन्। उनले न त पानीको पाइप बिछ्याएको छ, न नै कुनै घरमा पानीका नल पुगेको छ भने यति धेरै रकम कहाँ गयो? भनी प्रश्न तेर्साएका छन्।
सिक्किममा जलजीवन मिसनमा व्यापक भ्रष्टाचार भएको आरोप विभिन्न राजनीतिक पार्टीहरूले लगाइरहेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन्। तर, सरकारले आजसम्म पनि कुनै पारदर्शी जानकारी जनतालाई दिएको छैन र अहिलेसम्म सरकारबाट आर्थिक गतिविधिबारे कुनै सफेद-पत्र सार्वजनिक गरेको छैन भनेका छन्। उनले जनताको नाममा विकासका लागि आएको रकमलाई निष्कर्षसम्म पुर्याउन नसक्नु केन्द्रिय बजेटको दुरुपयोग र सिक्किमे जनताको विकासमाथिको खुल्ला धोका ठहर गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल