चुनाउको बेलामा मात्र होइन, तर शीतकालीन सत्रमा पनि सांसदले गोर्खाल्याण्डको प्राइवेट बिल ल्याएको हुनुपर्छ: सुवास प्रधान
सुवास प्रधान


खरसाङ, 10 दिसम्बर (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिका सभापति सुवास प्रधानले चुनाउको समयमा मात्र गोर्खाल्याण्ड भनेर हुँदैन, तर दार्जिलिङका सांसद राजु विष्टले संसदमा चलिरहेको शीतकालीन अधिवेशनमा पनि गोर्खाल्याण्डको प्राइवेट बील ल्याएको हुनुपर्छ भनेका छन्। त्यसो गर्न सकेको खण्डमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले उनलाई नै सघाउने उनले बताएका छन्।

उनले खरसाङमा पत्रकारहरुलाई सम्बोधन गर्दै यदि सांसदले संसदमा गोर्खाल्याण्डको लागि प्राइवेट बिल ल्याए आफुहरु पनि सांसदलाई सघाउने बताए। तर, चुनाउको समयमा मात्र गोर्खाल्याण्ड भनेर हुँदैन भनी उनले बताए।

प्रधानले जसरी नेपाली भाषाले संविधानको आठौं अनुसूचीमा मान्यता प्राप्त गरेको समयमा सिक्किमकी तत्कालीन सांसद दिलकुमारी भण्डारीले सबै सांसदहरुलाई मनाएका थिए र सबै सांसदहरुसित लबी गरेर नेपाली भाषालाई मान्यता दिलाउन ठूलो भूमिका निर्वाह गरेकी थिइन्, त्यसरी नै सांसद राजु विष्टले पनि गोर्खाल्याण्डको लागि सबै सांसदहरुसित लबी लगाउनुपर्छ भनी सुझाउ पनि दिए।

उनले चुनाउको माहोलसितै पहाडमा राजनीतिक दाउपेच शुरु भएको बताउँदै अहिले इन्टरलोक्युटरको कुरा चर्चामा रहेको र सांसद राजु विष्टले सबै राजनीतिक दलहरु लगायत अनित थापाको पार्टीको टेकबारे पनि प्रश्न गरेकाले उत्तर दिएको बताए। उनले अनित थापाको पार्टी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले गोर्खाल्याण्डको सदैव समर्थन गर्ने र कहिले पनि विरोध नगर्ने बताए।

उनले भने, भारतीय जनता पार्टीको इच्छा भए गोर्खाल्याण्ड दिन सक्छ तर, इच्छा नै छैन। भाजपा गोर्खाहरुप्रति इमान्दार छैन। उनले अझ भने, पहाडमा भागोप्रमो‌ मात्र सत्तामा छैन। पहाडबाट निर्वाचित भएर सांसद र विधायकहरु पनि गएका छन्। उनीहरुले विकासको कार्य के गरेका छन्।

प्रधानले पहाडमा भाजपाले श्रमिकहरुको दैनिक हाजिरा 800 हुने झूटो कुरा बोलिरहेको बताउँदै चुनाउको समयमा देशका गृहमन्त्री अमीत शाहले दार्जिलिङमा‌ आएर श्रमिकहरुको दैनिक 350 हुने घोषणा गरे तापनि अहिलेसम्म कुनै पहल नभएको बताए। उनले 2017 मा आन्दोलन बिथोल्ने अनित थापा होइन भन्दै आन्दोलनको समयमा शान्ति होस् भनेर गोरामुमोले कोलकातामा पत्राचार गरेको बताए। अनित थापाले जनतालाई दिग्भ्रमित नगरि सरकारसित मिलेर पहाडमा शान्ति र विकासको कार्य गरिरहेको दाबी गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande