
उधमपुर, १६ दिसम्बर (हि.स.)। सोमबार भएको भिडन्तमा एसओजीका एक जवान बलिदान भएपछि त्यसको भोलिपल्ट मंगलबार सुरक्षा बलहरूले उधमपुरको मजालता क्षेत्रमा आतङ्कवादीहरूको खोजी अभियान तीव्र पारेका छन्। सोमबारको भिडन्तमा एक आतङ,कवादी घाइते भएको आशंका गरिएको छ भने दुई जना पुलिसकर्मीलाई सामान्य गोली लागेको बताइएको छ।
पुलिसका एक अधिकारीका अनुसार, लुकेर बसेका आतङ्कवादीहरूको पत्ता लगाउन क्षेत्रमा पुनः अभियान शुरु गरिएको छ। घेराबन्दी अझ कडा बनाइएको छ। उनले बताएअनुसार, पुलिसको विशेष अभियान समूह (एसओजी) को संयुक्त टोलीले सेना र सीआरपीएफसँग मिलेर खोजी कुकुरहरूको सहयोगमा तलासी अभियान सञ्चालन गरिरहेको छ।
सोमबार उधमपुरको मजालता क्षेत्र अन्तर्गत सोआन गाउँमा जैश-ए-मोहम्मद (जेईएम) संगठनसँग सम्बन्धित मानिएका तीन आतङ्कवादीहरूको उपस्थितिको सूचना पाएपछि सुरक्षा बलहरूले तलासी अभियान शुरु गरेका थिए। घेराबन्दी गरिएको गाउँमा साँझ लगभग ६ बजे भिडन्त शुरु भयो, जसमा पुञ्छ जिल्लाको मेन्धर उपजिल्ला अन्तर्गत साल्वा निवासी एसओजी जवान अमजद पठान गम्भीर घाइते भएका थिए र पछि उपचारका क्रममा उनको निधन भयो।
जम्मूका आईजीपी भीम सेन टूटीले बताएअनुसार, एसओजीको सानो टोलीले आतङ्कवादीहरूसँग सामना गरेको थियो। अँध्यारो र दुर्गम भूभागका कारण जंगलमा खोजी कार्यमा कठिनाइ भइरहेको छ। उधमपुरको बसन्तगढ़ त्यही मार्गमा पर्छ, जसको प्रयोग पाकिस्तानी आतङ्कवादीहरूले कठुआस्थित अन्तरराष्ट्रिय सीमाबाट जम्मूको डोडा र किश्तवाड जिल्लामा प्रवेश गरी कश्मीर उपत्यकातर्फ जाने परम्परागत रूपमा गर्दै आएका छन्।
उनले थप बताए, जवान पठानको शवको पोस्टमार्टम अझै हुन बाँकी छ र त्यसपछि उधमपुरमा श्रद्धाञ्जली समारोह आयोजना गरिनेछ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी