विजय दिवसमा सेनाको पूर्वी कमान मुख्यालयमा १९७१ युद्धका नायकहरूलाई श्रद्धाञ्जली दिइयो
Vijay diwas


कोलकाता, १६ दिसम्बर (हि.स.)। विजय दिवसको अवसरमा मंगलबार कोलकातास्थित विजय दुर्गमा रहेको भारतीय सेनाको पूर्वी कमान मुख्यालयमा १९७१ को भारत–पाकिस्तान युद्धमा सर्वोच्च बलिदान दिने सैनिकहरूलाई श्रद्धाञ्जली अर्पण गरियो। यस अवसरमा आयोजित कार्यक्रममा पश्चिम बंगालका राज्यपाल डा. सी.भी. आनन्द बोस, मिजोरमका राज्यपाल जनरल वी.के. सिंह (सेवानिवृत्त), पूर्वी कमानका सेना कमाण्डर लेफ्टिनेन्ट जनरल आर.सी. तिवारी, भारतका वीर पूर्व सैनिकहरू, भारतीय सशस्त्र बलका अधिकारीहरू तथा बंगलादेशी प्रतिनिधिमण्डलको उपस्थिति रहेको थियो।

बांग्लादेश प्रतिनिधिमण्डलमा मोहम्मद हबीबुल आलम, मेजर अलिक कुमार गुप्ता (सेवानिवृत्त), मेजर कमरुल आबेदीन (सेवानिवृत्त), मेजर मनीष देवन (सेवानिवृत्त), मेजर मोहम्मद अब्दुल हकीम (सेवानिवृत्त), ब्रिगेडियर जनरल मोहम्मद लुत्फुर रहमान, मेजर शेर-ए-शहबाज र ब्रिगेडियर जनरल मोहम्मद हाफिजुर रहमान सामेल थिए। प्रतिनिधिमण्डलको नेतृत्व ब्रिगेडियर जनरल रहमानले गरेको थियो। सबैले मिलेर १९७१ को मुक्ति संग्राममा शहीद भएका भारतीय र बंगलादेशी योद्धाहरूलाई नमन गरे।

यस अवसरमा मिजोरमका राज्यपाल वी.के. सिंहले १६ दिसम्बर ऐतिहासिक दिन रहेको उल्लेख गर्दै भारतीय सशस्त्र बल र बंगलादेशका मुक्ति योद्धाहरूले निर्णायक विजय हासिल गरेको बताए। उनले यो विजय केवल सैन्य सफलता मात्र नभई साहस, बलिदान र न्यायको जितको प्रतीक बताए। बंगलादेशले यो इतिहास सधैं स्मरण गरिरहनुपर्ने उनले मन्तव्य राखे।

पश्चिम बंगालका राज्यपाल डा. सी.भी. आनन्द बोसले विजय दिवस पाकिस्तानका अत्याचारविरुद्ध भारतले चालेको कडा कदमको प्रतीक बताए। उनले दुवै देशका तर्फबाट लड्दै बलिदान दिने वीरहरूलाई सधैं सम्झनुपर्ने भन्दै यो कार्यक्रम उनीहरूको सम्मानमा आयोजित गरिएको उल्लेख गरे।

भारतीय सेनाको पूर्वी कमानले जारी गरेको वक्तव्यमा यस्ता साझा स्मृतिसँग जोडिएका कार्यक्रमहरूले भारत र बंगलादेशबीचको भाइचारा र आपसी सम्मानका सम्बन्धलाई अझ मजबुत बनाउने बताएको छ। विजय दिवसको यो आयोजनाले दुवै देशबीचको ऐतिहासिक मित्रता र साझा संघर्षको स्मृतिलाई पुनः जीवित बनाएको जनाइएको छ।

उल्लेखनीय छ, विजय दुर्गमा विजय दिवसको स्मृतिमा एक सातासम्म चल्ने कार्यक्रम आयोजना गरिन्छ। सात दिसम्बरमा ‘कर्टेन रेजर’ कार्यक्रमसँगै यसको शुरुआत भएको थियो। १५ दिसम्बरमा कोलकाताको ऐतिहासिक रेस कोर्स मैदानमा सैन्य शक्तिको भव्य प्रदर्शन गरिएको थियो, जहाँ भारतीय सेनाका वीर जवानहरूले घुड़सवारी, स्काइ डाइभिङ, फ्लाइ पास्ट र कम्ब्याटका अद्भुत प्रदर्शन प्रस्तुत गरेका थिए।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande