
कराची, १६ दिसम्बर (हि.स.)। पाकिस्तानको सिन्ध प्रान्तको राजधानी कराची र छेउछाउका क्षेत्रहरूमा सोमबार अबेर राति भूकम्पको धक्का महसुस गरियो। रिक्टर स्केलमा भूकम्पको तीव्रता ५.२ रेकर्ड गरिएको छ। कराचीका विभिन्न भाग चुन्दरीगर रोड, सदर, क्लिफ्टन, टिपु सुल्तान रोड, पहलवान गोठ र बहरिया टाउनमा भूकम्पका धक्का महसुस भएपछि हलचल मच्चिएको थियो।
दुनिया न्यूजको रिपोर्टअनुसार, भूकम्प आएपछि मानिसहरू डराएर घरबाहिर निस्किए र पवित्र कुरानका आयतहरू पढ्न थाले। यद्यपि, कराचीका कुनै पनि क्षेत्रमा धन–जनको क्षति भएको खबर आएको छैन।
राष्ट्रिय भूकम्प निगरानी केन्द्र (इस्लामाबाद) का अनुसार, भूकम्पको केन्द्र कराचीबाट ८७ किलोमिटर उत्तर–पश्चिमतर्फ १२ किलोमिटरको गहिराइमा रहेको थियो। यसअघि बलुचिस्तान प्रान्तको सिबी र छेउछाउका क्षेत्रमा रिक्टर स्केलमा ३.२ तीव्रताको भूकम्प आएको थियो। उक्त भूकम्पको केन्द्र सिबीबाट ५३ किलोमिटर उत्तर–पश्चिमतर्फ ११ किलोमिटरको गहिराइमा थियो।
उल्लेखनीय छ, अरब सागरको तटमा अवस्थित कराची पाकिस्तानको सबैभन्दा ठूलो शहर हो। यो पाकिस्तानको प्रमुख औद्योगिक र वित्तीय केन्द्र हुनुका साथै मुख्य बन्दरगाह पनि हो। कराचीलाई पाकिस्तानको आर्थिक राजधानीका रूपमा पनि चिनिन्छ। भारत विभाजनपछि सन् १९४७ देखि १९५९ सम्म कराची पाकिस्तानको राजधानी थियो। पछि राजधानी इस्लामाबाद सारिएको थियो।
हिन्दुस्थान समाचार / भवानी थामी