
कुहिरोका कारण १० सवारी साधन ठोक्किए, आगलागीपछि ठूलो क्षति
मथुरा, १६ दिसम्बर (हि.स.)। उत्तर प्रदेशको मथुरा जिल्लास्थित बलदेव थाना क्षेत्र अन्तर्गत यमुना एक्सप्रेसवेमा मंगलबार बिहान कुहिरोका कारण सातवटा बस र तीनवटा कार आपसमा ठोक्किपछि वाहनहरूमा आगलागी भयो। यस भीषण दुर्घटनामा १३ जनाको जलेर दुःखद मृत्यु भएको छ भने ७० भन्दा बढी व्यक्ति घाइते भएका छन्। घाइतेहरूलाई मथुरा र वृन्दावनका अस्पतालहरूमा भर्ना गरिएको छ।
मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति शोक व्यक्त गर्दै मृतकका परिवारलाई प्रतिव्यक्ति २–२ लाख रुपियाँ र घाइतेहरूलाई ५०–५० हजार रुपियाँ आर्थिक सहायता दिने घोषणा गरेका छन्। जिलाधिकारीले मजिस्ट्रीयल जाँचको आदेश दिएका छन्।
जिल्ला अधिकारी चन्द्र प्रकाश सिंहले भने, यमुना एक्सप्रेसवेमा माइलस्टोन नम्बर १२७ नजिक बिहान कुहिरोका कारण एक रोडवेज बससहित सात बस र चार साना सवारी साधन आपसमा ठोक्किए। ठक्करपछि सवारी साधनहरूमा आगो लाग्यो। आगलागीका कारण शवहरूको पहिचान कठिन भएको छ, त्यसैले डीएनए परीक्षणमार्फत पहिचान गरिनेछ। फायर ब्रिगेड र पुलिसले आगो नियन्त्रणमा लिएर २० वटा एम्बुलेन्समार्फत घाइतेहरूलाई अस्पताल पुर्याएका थिए।
वरिष्ठ पुलिस अधीक्षक श्लोक कुमारले भने, अयोध्याबाट दिल्ली जाँदै गरेको बस कुहिरोका कारण ठोक्किएपछि आगलागी भयो। कम दृश्यताका कारण ७ बस, १ रोडवेज र ४ साना गाडी ठोक्किएका थिए। दुर्घटनाग्रस्त सवारी साधन हटाइएपछि ब्यारिकेडिङ गरी यातायात पुनः सञ्चालन गरिएको छ।
मुख्य चिकित्सा अधिकारी राधा वल्लभले मृतकहरूको पहिचान डीएनए परीक्षणपछि मात्र सम्भव हुने बताए। पोस्टमार्टमका लागि चिकित्सकहरूको टोली गठन गरिएको छ। जिल्ला प्रशासनले घाइतेहरूको प्राथमिक सूची पनि सार्वजनिक गरेको छ।
हेल्पलाइन नम्बर जारी
दुर्घटनासम्बन्धी जानकारीका लागि मथुरा जिल्ला प्रशासनले हेल्पलाइन नम्बर 0565-2403200 जारी गरेको छ। साथै, अपर जिल्ला अधिकारी (वित्त एवं राजस्व) डा. पंकज कुमार वर्मा (मोबाइल: 9454417583) र एसपी ग्रामीण सुरेश चन्द्र रावत (मोबाइल: 9454401103) सँग सम्पर्क गर्न सकिन्छ।
आगरामा लामो जाम
दुर्घटनापछि यमुना एक्सप्रेसवेमा आगरा जिल्लाको खंदौली टोल प्लाजामा लगभग ३–४ किलोमिटर लामो जाम लाग्यो, जसका कारण यात्रीहरूलाई ठूलो समस्या भएको थियो।
---------------
हिन्दुस्थान समाचार / बिशाल