राष्ट्रपति, प्रधानमन्त्री तथा अन्य नेताहरूले १९७१ को ऐतिहासिक विजयका नायकहरूलाई श्रद्धाञ्जली अर्पण गरे
सांकेतिक


नयाँ दिल्ली, १६ दिसम्बर (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रिय मन्त्रीहरू तथा विभिन्न राजनीतिक दलका नेताहरूले सन् १९७१ को युद्धमा भारतलाई ऐतिहासिक विजय दिलाउने भारतीय सशस्त्र बलहरूको शौर्य, पराक्रम र सर्वोच्च बलिदानप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। नेताहरूले ‘एक्स’ मार्फत आफ्ना सन्देशहरूमा १९७१ को विजयले देशको सुरक्षा र सम्मानलाई नयाँ उचाइमा पुर्‍याउनुका साथै भावी पुस्तालाई राष्ट्रप्रतिको समर्पणको प्रेरणा दिएको बताएका छन्।राष्ट्रपति द्रौपदी मुर्मुले भारत माताका वीर सपूतहरूलाई सादर नमन गर्दै उनीहरूको साहस, पराक्रम र मातृभूमिप्रतिको अनन्य निष्ठाले राष्ट्रलाई सधैँ गौरवान्वित बनाएको बताएकी छन्। उनले भारतीय सेनाको स्वदेशीकरणमार्फत सशक्तीकरण पहलको प्रशंसा गर्दै ‘अपरेशन सिन्दूर’ मा सेनाले आत्मनिर्भरता, सामरिक दृढ़ता र आधुनिक युद्धशैलीको प्रभावकारी परिचय दिएको उल्लेख गरिन्। राष्ट्रपति मुर्मुले सबै सैनिक तथा उनीहरूका परिवारलाई शुभकामना व्यक्त गरेकी छन्।उपराष्ट्रपतिले १६ दिसम्बर, १९७१ मा भारतीय सशस्त्र बलहरूको शौर्यका कारण पाकिस्तानमाथि निर्णायक विजय हासिल भएको र त्यसकै परिणामस्वरूप स्वतन्त्र बंगलादेशको जन्म भई क्षेत्रीय भू–राजनीतिमा ऐतिहासिक परिवर्तन आएको बताए। उनले यो युद्ध न्याय र स्वतन्त्रताप्रतिको भारतको प्रतिबद्धताको प्रतीक भएको उल्लेख गरेका छन्।प्रधानमन्त्री नरेन्द्र मोदीले विजय दिवसको अवसरमा वीर सैनिकहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको साहस र बलिदानकै कारण भारतले सन् १९७१ मा ऐतिहासिक विजय हासिल गरेको बताएका छन्। सैनिकहरूको अटुट संकल्प र निस्वार्थ सेवाले देशको रक्षा गरेको उल्लेख गर्दै उनले यो दिवस उनीहरूको अद्वितीय शौर्यलाई नमन गर्ने अवसर रहेको र यसले भावी पुस्तालाई निरन्तर प्रेरणा दिइरहने बताए।केन्द्रिय गृहमन्त्री अमित शाहले १९७१ मा भारतीय सुरक्षा बलहरूले अदम्य साहस र सटीक रणनीतिका बलमा पाकिस्तानी सेनालाई आत्मसमर्पण गर्न बाध्य पारेको बताए। उनले यो विजय अन्याय र अत्याचारविरुद्ध मानवताको रक्षा गर्ने उदाहरण बनेको र भारतीय सेनाको सैन्य क्षमतालाई विश्वले स्वीकार गरेको उल्लेख गरेका छन्।केन्द्रिय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले विजय दिवसको शुभकामना व्यक्त गर्दै राष्ट्रसेवामा समर्पित वीर जवानहरूलाई नमन गरेका छन्।रक्षामन्त्री राजनाथ सिंहले सन् १९७१ को निर्णायक विजयमा स्थलसेना, नौसेना र वायुसेनाबीच अद्भुत समन्वय देखिएको र त्यसले इतिहासको दिशा परिवर्तन गरेको बताए। उनले सशस्त्र बलहरूको पराक्रम र अनुशासनले आज पनि राष्ट्रिय संकल्पलाई सुदृढ़ बनाइरहेको उल्लेख गरेका छन्।कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगेले आजकै दिन सन् १९७१ मा भारतका वीर सशस्त्र सेनाहरूले पाकिस्तानलाई निर्णायक रूपमा पराजित गर्दै बंगलादेशलाई स्वतन्त्रता दिलाएको र विश्व मानचित्रलाई नयाँ स्वरूप दिएको बताए। उनले इन्दिरा गान्धीको दूरदर्शी, साहसी र दृढ़ नेतृत्वमा यो विजय मानवता र न्यायको महान् उदाहरण बनेको उल्लेख गरेका छन्।लोकसभाका विपक्षी नेता राहुल गान्धीले सन् १९७१ को युद्धमा सीमाको रक्षा गर्दै भारतीय सशस्त्र बलका वीरहरूले आफ्नो शौर्य र अटुट संकल्पद्वारा इतिहास रचेको बताए। उनले उनीहरूको सर्वोच्च बलिदान प्रत्येक भारतीयका लागि प्रेरणाको स्रोत रहने बताएका ‌छन्।केन्द्रिय आवास तथा शहरी विकास मन्त्री मनोहर लालले सन् १९७१ मा आजकै दिन ढाकामा भारतीय सेनाको अदम्य साहसले पाकिस्तानी सेनालाई आत्मसमर्पण गर्न विवश बनाएको बताए। उनले मातृभूमिको रक्षा गर्दै बलिदान दिने वीर सपूतहरूलाई श्रद्धाञ्जली अर्पण गरे।उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले विजय दिवसलाई भारतीय शौर्य र राष्ट्रभक्तिको अनुपम प्रतीक बताउँदै १९७१ को ऐतिहासिक विजयबाट प्रेरित भारत सधैँ अजेय रहने बताए।केन्द्रिय कृषि मन्त्री शिवराज सिंह चौहानले सन् १९७१ मा भारतीय सैनिकहरूले आफ्नो शौर्य र पराक्रमद्वारा यो ऐतिहासिक विजय सम्भव बनाएको बताए। उनले कृतज्ञ राष्ट्रले उनीहरूको त्याग र बलिदान कहिल्यै नबिर्सने बताएका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande