
हुगली, 19 दिसम्बर (हि. स.)। मुख्यमन्त्री ममता ब्यानर्जीद्वारा शुरू गरिएको ‘आमदेर पाड़ा, आमदेर समाधान' योजना अन्तर्गत भइरहेको निर्माण कार्यमा निम्न स्तरको सामग्री प्रयोग भएको आरोप हुगली जिल्लाको गोघाटबाट प्रकाशमा आएको छ। आरोप छ, हातले धक्का दिँदैमा कंक्रीटको पिलर भत्कियो अनि निर्माणाधिन पर्खालको ईँटा पनि छुँदै भत्कियो।
घटना गोघाट-1 ब्लकको भादुर ग्राम पञ्चायत क्षेत्रको बाघारबर्ड प्राथमिक विद्यालय परिसरमा भएको हो जहाँ योजना अन्तर्गत शौचालय निर्माण भइरहेको छ। स्थानीय मानिसहरूको भनाइ छ, निर्माणको निम्ति अत्यन्त निम्न स्तरको सामग्री उपयोग गरिएको छ जसबाट कुनै पनि समय ठूलो दुर्घटना हुनसक्छ।
स्थानीय निवासीहरूले बताए, स्कूलमा स-साना बाल-बालिकाहरू पढ़्दछन् र यस किसिमको निर्माण कार्य उनीहरूको सुरक्षाको लागि गम्भीर खतरा हो। आरोपपछि ग्रामीणहरूले शुक्रवार बिहान निर्माण कार्यलाई नै रोकिदिए। सूचना पाउनसाथ भादुर ग्राम पञ्चायतका निर्माण सहायक पार्थ नन्दी घटनास्थलमा पुगे अनि जाँचपछि स्वीकार गरे कि निर्माण सामग्रीको गुणस्तर सही छैन।
जानकारी अनुसार केही दिनअघि एकजना स्थानीय तृणमूल नेताले क्यामरा सामु हातले नै ईँटा खनेर देखाउँद निम्न स्तरको काम भइरहेको देखाएका थिए। घटनापछि क्षेत्रमा राजनीतिक आरोप-प्रत्यारोप शुरू भएको छ।
भाजपाका आरामबाग सांगठनिक जिल्लाध्यक्ष सुशान्त बेड़ाले तृणमूल कंग्रेसलाई लक्षित गर्दै भने, मुख्यमन्त्रीले मानिसहरूको ध्यान आकर्षण गर्नका लागि मात्र योजनाहरू शुरू गरिरहेकी छन्, तर न त योजनाहरूमा स्थायित्व छ न निर्माण कार्यमै। उनले कटाक्ष गर्दै भने, यो ‘आमदेर पाड़ा, आमदेर समाधान' होइन ‘हाम्रो गाउँमा समस्या बढ़ाउने’- योजना बन्न पुगेको छ।
अर्कोतिर तृणमूल संचालित भादुर ग्राम पञ्चायतकी प्रधान सेरिफा बीबीले भनिन्, पञ्चायत इञ्जीनियरहरूलाई जाँचको लागि पठाइएको छ र रिपोर्ट पाएपछि अग्रिम कारबाही गरिनेछ।
यसबीच, विद्यालयका शिक्षकहरूले विद्यार्थीहरूको सुरक्षामाथि गम्भीर चिन्ता व्यक्त गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा