भागोप्रमो तीनधारे महानदी समष्टिको सांगठनिक सभा सम्पन्न
bgpm meeting


भागोप्रमो पार्टीमा सबैले कुरा राख्न पाउने लोकतान्त्रिक संस्कार छ - अमर लामा

खरसाङ, 21 दिसम्बर (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सांगठनिक सभा आज केन्द्रिय महासचिव अमर लामाको विशेष उपस्थितिमा सम्पन्न भयो। घैयाबारूस्थित पार्टी कार्यालयमा सम्पन्न उक्त सांगठनिक सभालाई समष्टिको उप सभापति राजु लामाले अध्यक्षता गरेका थिए।

सभालाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रिय महासचिव अमर लामाले सम्बोधन गर्दै यो सभा एउटा अन्तरक्रियात्मक सभा रहेको र यसमा पार्टीकि पदाधिकारीहरु र कार्यकर्ताहरुमाझ अन्तरक्रिया गरिएको बताए। उनले भने, हाम्रो पार्टीको नाममा प्रजातान्त्रिक छ, जुन लोकतन्त्रको पर्यावाची शब्द हो अनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा हाम्रो लोकतान्त्रिक संस्कार छ र सबैले आफ्नो कुरा राख्न पाउँछन्।'

अमर लामाले पार्टीको सांगठनिक गतिविधि र आगामी दिनहरुमा गरिने पार्टीका विभिन्न सांगठनिक विषयमा चर्चा परिचर्चा गरेका थिए। सभालाई सभासद एवं तीनधारे महानदी समष्टिको पर्यवेक्षक प्रणाम रसाइली, सभासद नवराज छेत्री, तीनधारे महानदी समष्टिको सभापति राजीव थापाले सम्बोधन गरेका थिए।‌ त्यसरी नै महानदी ग्राम पञ्चायत स्तरीय ब्लक कमिटीका सभापति कुसाङ लामा, घैयाबारी तीन ग्राम पञ्चायत स्तरीय ब्लक कमिटीको सभापति धिरेन प्रधान, तीनधारे खण्ड समितिको सचिव अनिल राई, विद्यार्थी महासंघ तीनधारे महानदी समष्टिका सभापति सुभम प्रधान लगायत भूतपूर्व सैनिक संगठन र जीटीए कर्मचारी संगठनको तर्फबाट पनि वक्तव्य राखिएको थियो।

सभामा वक्ताहरुले पार्टीको सांगठनिक गतिविधि र आगामी दिनहरुमा गरिने विभिन्न गतिविधिहरु विषय साथै विभिन्न भातृ संगठनहरुका विषयमा चर्चा परिचर्चा गरेका थिए‌। सभामा समष्टिका‌ पदाधिकारीहरु, नारी, युवा, ट्रेड युनियन, शिक्षक संगठन, विद्यार्थी महासंघ, भूतपूर्व सैनिक संगठन लगायत विभिन्न भातृ संगठनहरुका प्रतिनिधिहरु साथै तीनवटा ग्राम पञ्चायत स्तरीय ब्लक कमिटीकि पदाधिकारीहरु र तीनधारे खण्ड समितिका पदाधिकारीहरु उपस्थित रहेका थिए।‌

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande