
अलिपुरद्वार, 21 दिसम्बर (हि. स.)। जिल्लाको फालाकाटामा घना कुहिरोको कारणले दुई भिन्न सड़क दुर्घटनामा परी दुईजना मानिसहरूको मृत्यु भएको छ। जानकारी अनुसार गए शनिवार अबेर राती फालाकाटा-मदारीहाट राज्य सड़कमा हालोंग क्षेत्र निकट एउटा चार चक्के वाहनको चालकले नियन्त्रण गुमायो। वाहन पहिला सड़क किनार निर्माणाधिन गार्डवालसित ठोक्कियो अनि पछि पल्टिएर त्यसको नजिकमै झऱ्यो। कारमा चालक सहित चारजना मानिसहरू सवार थिए जसमध्ये कौशिक दास (30) नामक युवकको घटनास्थलमै मृत्यु भयो भने अन्यलाई सामान्य चोट लाग्यो। घटनाको सूचना पाउनसाथ फालाकाटा थानाको पुलिस घटनास्थलमा पुग्यो अनि दुर्घटनाग्रस्त वाहनलाई जफत गऱ्यो। मृतक फालाकाटा ब्लकको 6 माइल निवासी रहेको बताइएको छ।
यसरी नै आइतवार बिहान फालाकाटाको कुञ्जनगर क्षेत्रमा अर्को सड़क दुर्घटना भयो। पुलिस सूत्र मुताविक थिवनाथपुर निवासी अधिर बर्मन आफ्नी पत्नी रत्ना बर्मनसित स्कुटी मार्फत फालाकाटा तर्फ गइरहेका थिए। उनकी पत्नी कोलकाता पुलिसको परीक्षा दिन गइरहेकी थिइन्। यसै अवधि कुञ्जनगर क्षेत्रमा पुगेपछि पछाड़िबाट अचानक एउटा मालवाहक वाहनले स्कुटीलाई ठक्कर दियो। दुवै सड़कमा झरे अनि गम्भीर रूपमा घाइते भए।
घाइतेहरूलाई पहिला फालाकाटा सुपर स्पेशियलिटी अस्पतालमा लगियो पछि कुचबिहार एमजेएन मेडिकल कलेज एवं अस्पतालमा रेफर गरियो। तर कुचबिहार लैजाने क्रममा अधिरको बाटोमै मृत्यु भयो। पुलिसको भनाइ छ, घना कुहिरोको कारणले यो दुर्घटना भएको हो। पुलिसले भगौड़ा वाहनलाई खोजिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा