
गान्तोक, 21 दिसम्बर (हि.स.)। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको १७औं रोलू दिवस आज पवित्र रोलू मन्दिरमा पूजा अर्चना गरी साधरण ढंगमा पालन गरियो। पार्टी अध्यक्ष एवं मुख्यमन्त्री प्रेमसिंह तामाङले पवित्र रोलू मन्दिरमा सिक्किम र सिक्किमेली जनताको कल्याण, सुख, शान्ति एवं समृद्धिको लागि प्रार्थना गरे।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पार्टी अध्यक्ष तामाङले १७औं रोलू दिवसको सबैमा हार्दिक शुभेच्छा व्यक्त गर्दै रोलू मन्दिरको ऐतिहासिक र भावनात्मक महत्त्व र एसकेएम पार्टीको यात्राको स्मरण गरे। पार्टी गठनको क्रममा भोगेका संघर्षहरूलाई सम्झँदै मुख्यमन्त्री निकै भावुक पनि बने। उनले एसकेएम पार्टी गठन गर्दाको संघर्ष र यात्राको पनि स्मरण गर्दै कठिन समयमा पार्टीलाई साथ दिनेहरूको योगदानको उल्लेख गरे।
उनले पार्टीलाई मजबुत बनाउने व्यक्तिहरूलाई कहिल्यै बिर्सनु हुँदैन भन्ने कुरामा जोर दिंदै आज सम्मानजनक पदमा रहेकाहरू कुनै व्यक्तिको कारणले होइन, तर पार्टीको कारणले हो भनी बताए। पार्टी गठन गर्दा रोलू मन्दिरमा सिक्किमका जनताको सेवा गर्ने प्रतिज्ञा गरेको र आज त्यो प्रतिज्ञा पूरा गर्न पाइरहेको सन्तुष्टि व्यक्त गरे। साकेवा, चासोक तोङनाम, लोसुङ नामसुङ र क्रिसमस जस्ता अन्य चाडपर्वहरुका कारण यस वर्षको रोलू दिवस सामान्य रूपमा मनाइएको उल्लेख गर्दै आज पार्टी कार्यकर्ता र समर्थकहरूको उत्साहजनक उपस्थितिप्रति उनले खुशी व्यक्त गरे।
मुख्यमन्त्रीले आगामी पार्टी स्थापना दिवस समारोह लगातार तीन दिनसम्म मनाइने घोषणा गरे। उनले आफ्नो सम्बोधनमा मिशन २०२९ लाई ध्यानमा राखेर काम गर्न पार्टी कार्यकर्ताहरूलाई आग्रह गरे।
कार्यक्रममा मन्त्री तथा पार्टीका सेक्रेटरी जेनरल अरूण कुमार उप्रेती, राज्य मन्त्रीमण्डलका सदस्यगण, विधायकगण, मुख्यमन्त्रीका राजनीतिक सचिवद्वय जेकब खालिङ र विकास बस्नेत, प्रेस सचिव युगेन तामाङ, विभिन्न विभागीय अध्यक्षहरु, सल्लाहकारगण, ओएसडी, सीएलसी अध्यक्ष र कार्यकारीहरूको बाक्लो उपस्थिति थियो।
------------
हिन्दुस्थान समाचार / बिशाल