
संयुक्त माध्यमिक शिक्षक सगंठनले जीटीए चिफ् अनित थापालाई दिए धन्यवाद
दार्जिलिङ, 24 दिसम्बर (हि.स.)। दार्जिलिङ पहाड़का ३१३ शिक्षकहरूको सन्दर्भमा कलकत्ता उच्च न्यायालयको डिभिजन बेञ्चले सिङ्गल बेञ्चको आदेशमाथि स्थगनादेश जारी गरेको छ।
यसअघि २०१० देखि यताका शिक्षक नियुक्ति प्रक्रियाको वैधतामाथि चुनौती दिँदै उच्च न्यायालयमा जसुमुद्धिन मण्डल एवं अन्यद्वारा दर्ता गरिएको याचिकामाथि सुनवाई गर्दै कलकत्ता उच्च न्यायालयको सिङ्गल बेञ्चले ३१३ शिक्षकहरूको नियुक्ति प्रक्रिया अवैध ठहराएको थियो। यसैगरी, गत १७ दिसम्बरको दिन त्यही मध्येका ३१३ शिक्षकहरूको नियुक्ति खारेज गर्ने आदेश जारी गरेको थियो।
उक्त आदेश जारी गरिएको 48 घण्टा पनि नबित्दै गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेशन जीटीएको तर्फबाट डिभिजन बेञ्चमा अपील दायर गरिएको थियो, जसलाई पञ्जीकृत गर्दै डिभिजन बेञ्चले सिङ्गल बेञ्चको आदेशमाथि स्थगनादेश जारी गरेको हो। संयुक्त माध्यमिक शिक्षक संगठनले यस महत्वपूर्ण र सराहनीय पहलका लागि जीटीए प्रमुख कार्यपाल अनित थापाप्रति हार्दिक आभार व्यक्त गरेको छ।
जीटीए प्रमुख अनित थापा ३१३ शिक्षकहरूलाई न्याय दिलाउने उद्देश्यका साथ गत चार दिनदेखि कलकत्तामा बसेर आवश्यक कानुनी र प्रशासनिक समन्वयमा सक्रिय रहेको र उनको तत्परताकै परिणामस्वरूप आज ३१३ शिक्षकहरूमा आशा र भरोसा पुनः जागृत भएको संयुक्त माध्यमिक शिक्षक संगठन केन्द्रिय समितिको उप सभापति विवेक छेत्रीले बताएका छन्।
उनले एक प्रेस विज्ञप्ति जारी गर्दै भने, 'जीटीए प्रमुख कार्यपाल अनित थापाले ३१३ शिक्षकहरूलाई न्याय दिलाएरै छोड्ने दृढ प्रतिवद्धता व्यक्त गरेका थिए। सिङ्गल बेञ्चको आदेश जारी भएको एक साता पनि नबित्दै डिभिजन बेञ्चबाट स्थगनादेश प्राप्त गराएर उनले आफ्नो प्रतिवद्धतालाई व्यवहारमा उतारेका छन्। यसका लागि संयुक्त माध्यमिक शिक्षक कल्याण संगठन शिक्षकहरूको तर्फबाट उहाँप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछ।'
उनले अघि भने, 'दार्जिलिङ पहाड़को शैक्षिक विकासमा ३१३ शिक्षकहरूको योगदान अत्यन्तै महत्वपूर्ण रहिआएको छ। संयुक्त माध्यमिक शिक्षक संगठन उनीहरूको योगदानप्रति सधैं सम्मान प्रकट गर्दछ र आगामी दिनहरूमा पनि ती शिक्षकहरूको न्याय र हितका लागि संगठन दृढतापूर्वक उभिने प्रतिवद्धता दोहोर्याउँछ। संगठनलाई न्यायिक प्रणालीमाथि पूर्ण विश्वास छ र शिक्षकहरूमाथि लगाइएका लाञ्छना तथा प्रताड़नाको अन्तिम समाधान न्यायालयबाटै हुनेछ भन्नेमा हामी विश्वस्त छौं।'
हिन्दुस्थान समाचार / हनोक