2026 मा भारतीय पुरुष क्रिकेट टोलीको क्यालेन्डर अत्यन्त व्यस्त, ठूला चुनौतीहरूको सामना गर्ने
Ranji Trophy cricket


नयाँ दिल्ली, २५ दिसम्बर (हि.स.)।

उतार–चढावपूर्ण 2025 पछि भारतीय पुरुष क्रिकेट टोलीका लागि 2026 निकै व्यस्त रहनेछ। यस वर्षको मुख्य आकर्षण घरेलु मैदानमा आयोजना हुने टी–२० विश्वकपको उपाधि जोगाउने चुनौती, ठूलो संख्यामा एकदिवसीय (ओडीआई) खेलहरू, र विदेशी भूमिमा विश्व टेस्ट च्याम्पियनसिप (डब्ल्यूटीसी) अन्तर्गतका कठिन परीक्षाहरू रहनेछन्।

साल 2025 भारतका लागि सम्झनलायक रह्यो। दुबईमा सम्पन्न च्याम्पियन्स ट्रफीमा टीम इन्डियाले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्यो, जहाँ चार स्पिनरको रणनीति अत्यन्त सफल सावित भयो। टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा पनि भारतको प्रगति जारी रह्यो र घरेलु तथा विदेशी भ्रमणका द्विपक्षीय सिरिजसँगै एसिया कपमा पनि जित हासिल गर्‍यो, यद्यपि अहिलेसम्म टी–२० विश्वकपको ट्रफी हात पार्न सकेको छैन।

टेस्ट क्रिकेटमा भारतको प्रदर्शन मिश्रित रह्यो। सिड्नीमा अस्ट्रेलियासँग पराजयसँगै भारतले बोर्डर–गावस्कर ट्रफी सिरिज ३–१ ले गुमायो र डब्ल्यूटीसी फाइनल पुग्ने सम्भावना समाप्त भयो। यही क्रममा विराट कोहली, रोहित शर्मा र चेतेश्वर पुजाराले टेस्ट क्रिकेटबाट सन्यास लिए, जसले टोलीमा ठूलो परिवर्तनको सुरुवात गर्‍यो।

शुभमन गिललाई नयाँ टेस्ट कप्तान बनाइयो र पछि उनलाई एकदिवसीय टोलीको जिम्मेवारी पनि दिइयो। इंग्ल्यान्डमा २–२ को बराबरीपछि भारतले घरेलु मैदानमा वेस्टइन्डिजलाई २–० ले हरायो। तर न्यूजिल्यान्डसँगको ३–० हारको सम्झना फेरि ताजा भयो, जब दक्षिण अफ्रिकाले भारतलाई २–० ले पराजित गर्‍यो। टेस्ट टोलीको ब्याटिङ क्रम अझै स्थिर हुन सकेको छैन र निरन्तर प्रयोगका कारण भूमिका स्पष्टता तथा दीर्घकालीन योजनामाथि प्रश्न उठिरहेका छन्।

साल 2026 मा भारतको मुख्य ध्यान टी–२० क्रिकेटमा रहनेछ, र टी–२० विश्वकपपछि एकदिवसीय प्रारूपमा फोकस बढ्नेछ। वर्षको सुरुवातमा न्यूजिल्यान्ड टोली तीन ओडीआई र पाँच टी–२० अन्तरराष्ट्रिय खेलका लागि भारत भ्रमणमा आउनेछ। त्यसपछि ७ फरवरीदेखि ८ मार्चसम्म भारत र श्रीलंकाको संयुक्त आयोजनाामा टी–२० विश्वकप हुनेछ।

सूर्यकुमार यादवको कप्तानीमा भारत डिफेन्डिङ च्याम्पियनका रूपमा यस प्रतियोगितामा सहभागी हुनेछ। हालको फर्म र खेलाडीहरूको उपलब्धतालाई हेर्दा भारतसँग उपाधि जोगाउने राम्रो अवसर हुनेछ। यदि भारत सफल भयो भने, घरेलु मैदानमा टी–२० विश्वकप जित्ने पहिलो टोली बन्नेछ र कुल तीन पटक उपाधि जित्ने एकमात्र टोली पनि हुनेछ।

टी–२० विश्वकप र आईपीएल 2026 पछि, जुन महिनामा अफगानिस्तान टोली एक टेस्ट (डब्ल्यूटीसी चक्र बाहिर) र तीन ओडीआई खेल्न भारत आउनेछ। त्यसपछि जुलाईमा भारतले इंग्ल्यान्डविरुद्ध तीन ओडीआई र पाँच टी–२० खेलको सेतो बलको सिरिज खेल्नेछ।

डब्ल्यूटीसी 2026 अन्तर्गत भारतका टेस्ट चुनौतीहरू अगस्टमा श्रीलंकाको भ्रमणबाट सुरु हुनेछन्, जहाँ दुई टेस्ट खेलिनेछन्। स्पिनमैत्री पिचमा स्पिनरविरुद्ध भारतको प्रदर्शन चिन्ताको विषय रहँदै आएकोले यो भ्रमण विशेष रूपमा महत्वपूर्ण हुनेछ।

सेप्टेम्बरमा यूएईमा अफगानिस्तानविरुद्ध तीन टी–२० खेलको सिरिज सम्भावित छ। बंगलादेश भ्रमण भने त्यहाँको वर्तमान परिस्थितिका कारण अनिश्चित बनेको छ र स्थगित हुन सक्ने सम्भावना छ। यसबाहेक, १९ सेप्टेम्बरदेखि ४ अक्टोबरसम्म जापानको आइची–नागोयामा हुने एसियाली खेलकुदका टी–२० प्रतिस्पर्धामा भारतको दोस्रो पंक्तिको टोली सहभागी हुन सक्छ।

भारतको घरेलु सिजन सेप्टेम्बर–अक्टोबरमा वेस्टइन्डिजविरुद्ध तीन ओडिआई र पाँच टी–२० खेलबाट सुरु हुनेछ। त्यसपछि अक्टोबर–नोभेम्बरमा टोली न्यूजिल्यान्डको कठिन विदेशी भ्रमणमा जानेछ, जहाँ दुई टेस्ट, तीन ओडीआई र पाँच टी–२० खेल खेलिनेछन्।

वर्षको अन्त्यमा दिसम्बरमा भारत र श्रीलंकाबीच घरेलु मैदानमा खेल हुनेछ, जहाँ तीन ओडीआई र तीन टी–२० खेल हुनेछन्। यो सिरिज सन् 2027 को एकदिवसीय विश्वकपको तयारीका दृष्टिले महत्वपूर्ण मानिएको छ।

तीनै प्रारूपमा निरन्तर व्यस्त तालिकाबीच खेलाडी र टोली व्यवस्थापनका लागि कार्यभार व्यवस्थापन अत्यन्त आवश्यक हुनेछ, ताकि भारतले द्विपक्षीय सिरिज र ठूला प्रतियोगिताहरूमा ट्रफी जित्ने लक्ष्यसहित निरन्तर उत्कृष्ट प्रदर्शन गर्न सकोस्।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande