क्रिकेटले सधैं केही न केही सिकाउँछ, आफ्ना कमजोरी स्वीकार गर्नु आवश्यक छ: शेफाली वर्मा
शेफाली वर्मा


विशाखापट्टनम, 24 दिसम्बर (हि.स.)। भारतीय महिला क्रिकेट टोलीकी ओपनर ब्याट्सवुमन शेफाली वर्माले क्रिकेट निरन्तर सिकाइरहने खेल रहेको बताउँदै राम्रो खेलाडी बन्न आफ्ना कमजोरी स्वीकार गर्नु अत्यन्तै आवश्यक रहेको बताएकी छन्।

मंगलबार विशाखापट्टनममा सम्पन्न दोस्रो टी–२० अन्तरराष्ट्रिय खेलमा श्रीलङ्काविरुद्ध भारतलाई सात विकेटको जित दिलाएपछि उनले यस्तो प्रतिक्रिया दिएकी हुन्।

यस खेलमा शेफाली वर्माले ३४ बलमा ६९ रनको शानदार पारी खेलिन्, जसका लागि उनलाई ‘प्लेयर अफ द म्याच’ घोषित गरियो। खेलपछि उनले आफ्नो खेलमा आएको सुधार र आत्मविश्वासको पुनरागमनबारे चर्चा गर्दै ब्याटिङका कमजोरी बुझेर त्यसमा काम गर्नु आफूका लागि महत्वपूर्ण रहेको बताइन्।

शेफालीले भनिन्, “क्रिकेटले सधैं केही न केही सिकाउँछ। आफ्ना कमजोरी स्वीकार गर्नु धेरै आवश्यक हुन्छ, तब मात्र सुधार सम्भव हुन्छ। शुरुवातमा बल अलि रोकिएर आइरहेको थियो, त्यसैले म ग्राउन्डमा खेल्दै सिंगल लिन प्रयास गरिरहेँ। शुरुका ओभरमा बलरहरूले राम्रो बलिङ गरे, तर पछि परिस्थिति हाम्रो पक्षमा आयो।”

उनले मुख्य प्रशिक्षक अमोल मजुमदारप्रति आभार व्यक्त गर्दै कठिन परिस्थितिमा कसरी ब्याटिङ गर्ने भन्ने विषयमा विशेष मार्गदर्शन पाएको पनि बताइन्।

शेफालीले थपिन्, “कोचले शुरुमा जमिनमा खेल्न र अवसर मिलेपछि मात्र हावामा सट खेल्न सल्लाह दिनुभएको थियो। म शान्त रहेँ, जमिनमै खेलिरहेँ र बल ठीकसँग आउन थालेपछि रन बनाउँदै गएँ। मलाई विश्वास छ कि यदि म जमिनमा खेलिरहेॅं भने रन अवश्य आउँछ।”

उल्लेखनीय छ, शेफाली घाइते प्रतीका रावलको स्थानमा एकदिवसीय विश्वकपको सेमिफाइनल र फाइनलमा टोलीमा फर्किएकी थिइन्। फाइनल खेलमा उनले दक्षिण अफ्रिकाविरुद्ध अर्धशतकका साथै दुई विकेट पनि लिएकी थिइन्।

यसअघि खेलमा भारतले टस जितेर पहिले बलिङ रोजेको थियो। श्रीलङ्काकी कप्तान चमारी अटापट्टुले पावरप्लेमा आक्रामक शुरुवात गर्दै भारतीय बलरहरूमाथि दबाउ सिर्जना गरेकी थिइन्। तर, स्नेह राणाको आगमनपछि खेलको दिशा परिवर्तन भयो। अस्वस्थ दीप्ति शर्माको स्थानमा खेल्दै राणाले चार ओभरमा मात्र ११ रन खर्चेर अटापट्टुको विकेट लिइन् र श्रीलङ्काको रनगति रोकिदिइन्।

अटापट्टु आउट भएपछि श्रीलङ्काको पारी कमजोर बन्दै गयो। हर्षिता समरविक्रमाले संघर्ष गरिन्, तर अर्कोतर्फबाट पर्याप्त साथ पाइनन्। भारतीय स्पिनरहरूले निरन्तर दबाउ बनाए। वैष्णवी शर्माले महत्वपूर्ण विकेट लिइन् भने श्री चरणीले दुई ब्याट्सवुमनलाई पवेलियन फर्काइन्। तीन रनआउट पनि श्रीलङ्काका लागि घातक सावित भए र सम्पूर्ण टोली सामान्य स्कोरमै सीमित रह्यो।

लक्ष्य पछ्याउने क्रममा भारतले शुरुवातमै स्मृति मन्धानालाई १६ रनमा गुमायो। त्यसपछि शेफाली वर्माले पारी सम्हालिन्। उनले स्पिन र तीव्र दुवै प्रकारका बलरहरूमाथि आक्रामक ब्याटिङ गर्दै रन बटुलिन्। इनोका रणवीरा र शशिनी गिम्हानी उनको आक्रामक ब्याटिङको शिकार बनिन् भने चमारी अटापट्टुको एक ओभरमा शेफालीले ४, ६ र ४ प्रहार गरिन्। अर्कोतर्फ जेमिमा रोड्रिग्सले पनि छिटो रन जोड्दै राम्रो साथ दिइन्, जसका कारण भारतले १२औँ ओभरमै जित हासिल गर्‍यो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande