
खरसाङ, 29 दिसम्बर (हि.स.)। खरसाङका वरिष्ठ साहित्यकार एवं समाजसेवी चन्द्र शर्माको निधनमा उनको परिवारलाई गोर्खा जनपुस्तकालय खरसाङको तर्फबाट समवेदना सन्देशसहित समवेदना पत्र प्रदान गरिएको छ। भारतीय नेपाली भाषा साहित्य र समाजको लागि निरन्तर कार्य गर्ने व्यक्तित्व स्व. चन्द्र शर्माको निधनको आज अन्त्येष्टि कार्यको दिन गोर्खा जनपुस्तकालय खरसाङको तर्फबाट परिवारलाई समवेदना व्यक्त गर्दै समवेदना पत्र प्रदान गरियो।
पुस्तकालयका मूल सचिव विनोद रसाइलीले समवेदना पत्र पठन गरेका थिए भने पुस्तकालयका पूर्व सभापति एवं वरिष्ठ सदस्य साथै वरिष्ठ समाजसेवी तिलक शर्माको बाहुलीबाट दिवंगत चन्द्र शर्माको परिवारलाई समवेदना पत्र हस्तान्तरण गरियो। यस अवसरमा पुस्तकालयको तर्फबाट पूर्व सभापति तिलक शर्मा, सचिव विनोद रसाइली, पूर्व सचिव एलडी मोक्तान, कार्यकारी सदस्यहरू प्रितम छेत्री, सञ्जीव छेत्री लगायत अन्यहरु उपस्थित रहेका थिए।
हिन्दुस्थान समाचार / हनोक