रेड क्रस सोसाइटी खरसाङको क्षय रोगका बिरामीहरुलाई पौष्टिक आहार वितरण
Red cross society


खरसाङ, 29 दिसम्बर (हि.स.)। ईण्डियन रेड क्रस सोसाइटी खरसाङ शाखाको आयोजनामा खरसाङ महकुमा अस्पतालमा एक कार्यक्रम आयोजना गरी खरसाङ नगरपालिका क्षेत्रका क्षय रोगीहरुलाई पौष्टिक आहारहरु प्रदान गरिएको छ।‌ उक्त पौष्टिक आहारहरु खरसाङ महकुमा अस्पतालमा पञ्जीकृत क्षयरोगका बिरामीहरुलाई प्रदान गरियो।

यस कार्यक्रमको अध्यक्षता ईण्डियन रेड क्रस सोसाइटी खरसाङ शाखाका भाइस चेयरम्यान डा एके बारुईले गरेका थिए। कार्यक्रममा विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु साथै डेपुटी मजिस्ट्रेट प्रसनजीत चौधरी पनि उपस्थित थिए। यस अवसरमा कुल 15 जना क्षय रोगीहरुलाई पौष्टिक आहार र अन्य खाद्यान्नहरु वितरण गरियो।

उक्त पौष्टिक आहारहरु वितरण कार्यक्रममा इण्डियन रेड क्रस सोसाइटीमा सहयोग गर्ने विशिष्ट व्यक्तिहरूलाई प्रमाण पत्रहरु वितरण गरियो। यस कार्यक्रमलाई डेपुटी मजिस्ट्रेट प्रसनजीत चौधरी, व्यवसायी संगठन खरसाङका सभापति फिरोज अख्तर, सचिव राजेन्द्र प्रसाद, सभासद नुरी शेर्पा, पश्चिम बंगाल ड्रगिस्ट एण्ड केमिस्ट एसोसिएशनको तर्फबाट ओम चौरसिया, बिक्रम प्रधान, ईण्डियन रेड क्रस सोसाइटी खरसाङ शाखाको भाइस चेयरम्यान डा एके बारुईले सम्बोधन गरेका थिए।

कार्यक्रममा खरसाङ महकुमा अस्पतालकी अवकाशप्राप्त नर्स मनमाया शर्मा प्रधानलाई महकुमा अस्पताल र ईण्डियन रेड क्रस सोसाइटीको तर्फबाट सम्वर्द्धना पत्र प्रदान गरेर सम्मान जनाइयो। ईण्डियन रेड क्रस सोसाइटी खरसाङ शाखाका सचिव बिजय सेञ्चुरीले भारत सरकारको टीबीमुक्त भारत योजना र पश्चिम बंगाल सरकारको पहलमा खरसाङ महकुमा अस्पतालको‌ टीबी युनिट र रेड क्रस सोसाइटी खरसाङ शाखाको आयोजनामा खरसाङ क्षेत्रका क्षय रोगीहरुलाई 6 महिनाको लागि पौष्टिक आहारहरु वितरण गरिएको बताए।

उनले यो क्रममा गत जुलाईदेखि शुरु गरेर दिसम्बरसम्म र आगामी जनवरी महिनादेखि अर्को छ महिनाको लागि गरिने बताए। सचिव बिजय सेञ्चुरीले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande