
नयाँ दिल्ली, 30 दिसम्बर (हि.स)। उर्वरक क्षेत्रको प्रमुख सहकारी संस्था भारतीय कृषक उर्वरक सहकारी लिमिटेड (इफको)-ले मंगलवार वर्ष 2025- को ‘इफको साहित्य सम्मान’ कथाकार मैत्रेयी पुष्पालाई प्रदान गऱ्यो। साथै ‘इफको युवा साहित्य सम्मान’ अंकिता जैनलाई उनको पुस्तक ‘ओह रे! किसान’-को लागि प्रदान गरियो।
नयाँ दिल्लीस्थित कमानी सभागारमा आयोजित एक समारोहमा उपरोक्त सम्मान इफकोका अध्यक्ष दिलीप संघाणीले प्रदान गरे। यस पुरस्कार अन्तर्गत सम्मानित साहित्यकारलाई एक प्रतीक चिन्ह, प्रशस्ति पत्र तथा 11 लाख रुपियाँको चेक प्रदान गरिन्छ।
भारतीय कृषक उर्वरक सहकारी लिमिटेड अनुसार वरिष्ठ साहित्यकार चन्द्रकान्ताको अध्यक्षता गठित निर्णायक समितिले मैत्रेयी पुष्पाको चयन ग्रामीण एवं कृषि जीवनको चित्रण औ भारतको परिवर्तनशील यथार्थमाथि केन्द्रित उनको व्यापक साहित्यिक योगदानलाई ध्यानमा राखेर गरेको हो। निर्णायक मण्डलमा नासिरा शर्मा, अनन्त विजय, यतिन्द्र मिश्र, डा. नलिन विकास एवं उत्कर्ष शुक्ल सामेल थिए।
इफकोद्वारा वर्ष 2011-मा शुरू गरिएको यो सम्मान प्रत्येक वर्ष यस्ता हिन्दी लेखकलाई दिइन्छ जसको रचनामा मुख्यतः ग्रामीण एवं कृषि जीवनको चित्रण हुन्छ। यसपूर्व यो सम्मान विद्यासागर नौटियाल, शेखर जोशी, सञ्जीव, मिथिलेश्वर, अष्टभुजा शुक्ल, कमलाकान्त त्रिपाठी, रामदेव धरन्धर, रामधारी सिंह दिवाकर, महेश कटारे, रणेन्द्र, शिवमूर्ति, जयनन्दन, मधु कांकरिया तथा चन्द्रकिशोर जायसवाललाई प्रदान गरिसकिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा