
खरसाङ, 30 दिसम्बर (हि.स.)। खरसाङ नगरपालिकाका स्वास्थ्य कर्मीहरु र निर्मल साथीहरुका विभिन्न समस्याहरुलाई लिएर आज खरसाङ नगरपालिकामा सभा सम्पन्न भयो। उक्त सभा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन नारी शक्तिको खरसाङ महकुमा समिति र टाउन कमिटीको समन्वयमा सम्पन्न भएको थियो।
खरसाङ नगरपालिकामा कार्यरत् स्वास्थ्य कर्मीहरु र निर्मल साथीहरुका विभिन्न समस्याहरु बुझ्न जीटीए प्रमुख अनित थापाले नारी शक्तिका पदाधिकारीहरुलाई जिम्मेवारी दिएपछि उक्त सभा आयोजना गरिएको बताइएको छ। सभामा खरसाङ नगरपालिकाका भाइस चेयरम्यान सुवास प्रधान, क्षेत्रीय सभासद श्याम शेर्पा, नारी शक्ति खरसाङ महकुमा समितिकी सभापति सविता कार्की, खरसाङ टाउन कमिटीका सभापति देवकी प्रधान सुब्बा, 28 नम्बर समष्टिकी सभापति सुष्मा मुखिया लगायत अन्यहरु उपस्थित रहेका थिए।
सभामा नगरपालिकाका स्वास्थ्य कर्मीहरु र निर्मल साथीहरुका विभिन्न समस्याहरुलाई लिएर चर्चा परिचर्चा गरियो। सभामा चर्चा गरिएका समस्याहरुको जानकारी नारी शक्तिका पदाधिकारीहरुले चॉंडै जीटीए प्रमुखलाई गराउने बताइएको छ। खरसाङ नगरपालिकाका भाइस चेयरम्यान प्रधानले नगरपालिकाका स्वास्थ्य कर्मीहरु र निर्मल साथीहरुका समस्याहरुलाई लिएर नगरपालिकाले कोलकातामा कुरा राखिसकेको र अब ती समस्याहरु सरकारले समाधान गर्नुपर्ने जानकारी गराए। उनले स्वास्थ्य कर्मीहरु र निर्मल साथीहरुका समस्याहरुलाई लिएर अनित थापाको नेतृत्वमा कार्य भइरहेको र उनको माध्यमद्वारा नै समस्या समाधान हुने कुरामा आफुहरू आशावादी रहेको बताए।
नारी शक्ति खरसाङ महकुमा समितिकी सभापति सबिता कार्कीले जीटीए प्रमुख अनित थापाले खरसाङ नगरपालिकाका सम्पूर्ण स्वास्थ्य कर्मीहरु र निर्मल साथीहरुका समस्याहरु बुझ्न निर्देशन दिएकाले सभा आयोजना गरिएको बताइन्। उनले सबै समस्याहरु सुनेर अब यी समस्याहरु जीटीए प्रमुख अनित थापा समक्ष राख्ने बताइन्। उनले यी समस्याहरू अवश्य समाधान हुने आशा व्यक्त गरिन्।
हिन्दुस्थान समाचार / हनोक