रोहिणी रोड 1 जनवरीदेखि खोलिने, जीटीए प्रमुख अनित थापाले गरे निरीक्षण
Rohini road


खरसाङ, 30 दिसम्बर (हि.स.)। पैह्रोका कारण अवरुद्ध रोहिणी रोड आगामी 1 जनवरीदेखि खोलिने भएको छ। गत 4 अक्टोबरको राति गएको पैह्रोले अवरुद्ध बनेको रोहिणी रोड लगभग तीन महिनापछि 1 जनवरीदेखि खोलिने भएको छ।

मंगलवार अपरान्ह जीटीए प्रमुख अनित थापाले रोहिणी रोडको भ्रमण गरेर चलिरहेको मर्मत कार्यको निरीक्षण गरे। उनले रोहिणी रोडको मरमत्तिको कार्य 31 दिसम्बरसम्म पूरा गरेर रोड खोल्न निर्देशन दिएको जानकारी प्राप्त भएको छ। यसका साथै मंगलवार बिहान सम्बन्धित विभागीय अधिकारीहरुले पनि रोहिणी रोडको निरीक्षण गरेका थिए।

रोहिणी रोड 1 जनवरीदेखि गाडीहरुका लागि खुल्ला गरिने भए तापनि मर्मतको कार्य जारी रहने बताइएको छ। रोहिणी रोड पैह्रोले अवरुद्ध भएपछि अहिले सबै गाडीहरु राष्ट्रिय राजमार्ग 110 भएर चलिरहेका छन्। अब रोहिणी रोड खोलिएपछि सबैलाई सुविधा हुने अपेक्षा गरिएको छ। साथै, रोहिणी क्षेत्रका होटल व्यवसायीहरु पनि रोहिणी रोड खोलिने भएपछि उत्साहित छन्।

रोहिणी रोडको मर्मतको कार्य जीटीए अन्तर्गत खरसाङ अभियान्त्रिकी विभागद्वारा गरिएको हो। अर्कातिर, रोहिणी रोड अवरुद्ध भएपछि सबै गाडीहरु राष्ट्रिय राजमार्ग 110 भएर कुदिरहेकाले महानदी, घैयाबारी, तीनधारे, रंगटङ क्षेत्रमा होटल व्यवसाय राम्रो चलिरहेको छ। तर, अब रोहिणी रोड खोलिने भएपछि रोहिणी क्षेत्रका होटलहरु पुन: सञ्चालनमा आउने सम्भावना बढेका छन्।

अहिले सबै गाडीहरु राष्ट्रिय राजमार्ग 110 भएर कुदिरहेकाले गिद्ध पहाड, महानदी, घैयाबारी, तीनधारे क्षेत्रमा जामको समस्या देखिएको छ। विशेषगरि, गिद्ध पहाडस्थित रक गार्डनको‌ भ्यु पोइन्ट क्षेत्रमा दैनिक जामका कारण निकै समस्या उत्पन्न भइरहेको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande