
गान्तोक, 30 दिसम्बर (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किम महिला परिषद् नाम्चीको कार्यकारी समितिको समन्वय सभा आज नाम्ची पार्टी कार्यलयमा सम्पन्न भयो। सभामा पार्टीलाई अझ मजबुत बनाउने, संगठन विस्तार गर्ने तथा महिला नेतृत्वलाई सक्रिय बनाउने विषयमा व्यापक छलफल भएको प्रेस विज्ञप्तिमा बताइएको छ।
सभालाई सम्बोधन गर्दै पार्टीको महिला परिषद्की उपाध्यक्ष प्रभारी सुमती छेत्रीले राज्यमा महिलाको सुरक्षा सुनिश्चित गर्न सरकार पूर्ण रूपमा असफल भएको आरोप लगाइन्। उनले महिलाका अधिकार र सुरक्षाको विषयमा यति कमजोर र लाचार सरकार सिक्किमले अहिलेसम्म नदेखेको पनि दाबी गरिन्। उनले आम नागरिक असुरक्षित बनेको, अनावश्यक ऋणको बोझ जनतामाथि थोपरिएको, नेपोटिजम चरम सीमामा पुगेको र राज्यको अर्थतन्त्र डावाडोल बनेको बताइन्।
सभाले महिलाको सुरक्षा, अधिकार र सम्मानका लागि सीएपी सिक्किम महिला परिषद् अझ सशक्त रूपमा अघि बढ्ने निर्णय गरेको छ। समन्वय सभामा पार्टीकी कार्यकारी उपाध्यक्ष प्रभारी सन्जु राई, महिला परिषद्की अध्यक्ष बिना शर्मा, महासचिव अर्पणा राई, युवा उपाध्यक्ष इडु भोटिया, नाम्ची जिल्ला महिला परिषद्की अध्यक्ष हेलेन राईलगायत नाम्ची जिल्लाअन्तर्गतका छवटै एकाइका महिला परिषद्का पदाधिकारीहरू पनि उपस्थित थिए।
हिन्दुस्थान समाचार / बिशाल