पेलिङमा पर्यटक सहायता बुथको आवश्यकता: पीटीडीए
कञ्चनजङ्घा विन्टर टुरिज्म फेस्टिभल


पेलिङ, 30 दिसम्बर (हि.स.)। गेजिङ जिल्ला अन्तर्गत पेलिङ खेल मैदानमा कञ्चनजङ्घा विन्टर टुरिज्म फेस्टिभल 2025 सफलतापूर्वक चलिरहेको छ। पेलिङ पर्यटन विकास संघ (पीटीडीए) को सक्रियतामा आयोजित यस महोत्सवको आज छैटौं दिन सिक्किम पुलिसका महानिदेशक अक्षय सचदेव मुख्य अतिथिका रूपमा सहभागी बने। यसैगरी, गेजिङ जिल्लाका जिल्लापाल तेन्जिङ डी. डेन्जोङ्गपा र 36 बीएन एसएसबी याङ्गतेका कमान्डेन्ट जितेन्द्र जोशी विशिष्ट अतिथि तथा पुलिस अधीक्षक छिरिङ शेर्पा विशेष अतिथि थिए।

महोत्सवको छैटौं दिन पुरुष खुल्ला फुटसल टुर्नामेन्टको सेमिफाइनल खेल र प्रदर्शनी म्याच आकर्षणको केन्द्र रह्यो। यसैगरी, रंगारंग सांस्कृतिक कार्यक्रमहरूले पनि सबैलाई मन्त्रमुग्ध बनाएका थिए।

महोत्सव आयोजक समितिका अध्यक्ष केशव प्रधानले समारोहको समृद्ध इतिहासमाथि प्रकाश पार्दै मुख्य अतिथिलाई उपस्थितिको निम्ति कृतज्ञता व्यक्त गरे। उनले पेलिङमा सिक्किम पुलिसद्वारा पर्यटक सहायता बुथको स्थापना र स्थानीय होटलहरूलाई अनिवार्य रूपमा सीसीटीवी क्यामेरा जडान गर्न कडा निर्देश जारी गरिनु आवश्यकतामाथि जोड दिए। उनले महोत्सव अवधि कानुन एवं व्यवस्था सुनिश्चित गर्न निरन्तर समर्थनको लागि पुलिस अधीक्षकप्रति आभार प्रकट गरे।

फुटसल म्याचमा पेलिङ युनाइटेड एफसीले प्रतिद्वन्दी दल फ्रेण्ड्स युनाइटेड एफसीलाई 6-3 ले पराजित गरेर फाइनलमा प्रवेश गऱ्यो। भोलि, 31 दिसम्बरका दिन पेलिङ युनाइटेड एफसी र सुप्रिमोस् लिङचोमबीच उपाधिको ला​गि फाइनलमा भिडन्त हुनेछ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande