
खरसाङ, 8 दिसम्बर (हि.स.)। खरसाङको गिद्ध पहाडस्थित भ्यु पोइन्ट नजिक आज बिहान एउटा मृत चितुवा फेला पऱ्यो। मृत चितुवा देखिएपछि स्थानीयहरुले वन विभागलाई खबर गरे, जसपछि मृत चितुवाको पोष्टमार्टम गरिएको छ। यसको रिपोर्ट केही दिनपछि आउने बताइएको छ।
मृत चितुवाको पोष्टमार्टम खरसाङ महकुमा अस्पतालको सहयोगमा गरिएको छ। डीएफओ आईएफएस देवेश पाण्डेले उक्त मृत चितुवाको पोष्टमार्टम गरिएको र रिपोर्ट आएपछि मृत्युको कारण स्पष्ट हुने बताए। उनले मृत चितुवाको जानकारी खरसाङ रेञ्जका रेञ्जर अफिसरबाट प्राप्त भएको बताए।
यस विषयमा वन विभाग, खरसाङ रेञ्जका रेञ्जर अफिसर मनोजकुमार छेत्रीले बताए अनुसार, गिद्ध पहाडमा एउटा मृत चितुवा भेटिएको जानकारी पाउनसाथ चितुवाको शव उद्धार गरेर खरसाङ महकुमा अस्पतालको सहयोगमा पोष्टमार्टम गरिएको बताए। उनले मृत चितुवा फिमेल रहेको र लगभग एक वर्षको रहेको बताए।
रेञ्जर अफिसर छेत्रीले चितुवा खानेकुराको खोजीमा जाँदा भीरबाट खसेर मरेको हुनसक्ने सम्भावना रहेको बताउॅंदै उक्त क्षेत्रमा निक्कै ठूला चट्टानहरु र भीर रहेको बताए। उनले यस क्षेत्रमा बिहान र बेलुका मानिसहरुलाई एक्लै नहिँड्न र समूहमा हिँडडुल गर्न सुझाउ पनि दिए। उनले मानिसहरूलाई चितवाबाट सचेत र सुरक्षित रहन आह्वान गरेका छन्।
हिन्दुस्थान समाचार / हनोक