परम्परागत बॉंस शिल्पकार भरत राई 'सिक्किम अकादमी पुरस्कार 2025' ले सम्मानित
परम्परागत बॉंस शिल्पकार भरत राई 'सिक्किम अकादमी पुरस्कार 2025' ले सम्मानित


साहित्यले ज्ञानको संरक्षण गर्छ र समाजको आत्माको रक्षा गर्छ: मुख्यमन्त्री

गान्तोक, 8 दिसम्बर (हि.स.)। सिक्किमका एक कुशल शिल्पकार भरत राईलाई सिक्किम अकादमी पुरस्कार 2025 ले सम्मानित गरिएको छ। राभाङला महकुमा अन्तर्गत जारोङ निवासी राईलाई परम्परागत बाँसको शिल्पकलामा उल्लेखनीय योगदानको लागि उक्त पुरस्कारले सम्मानित गरिएको हो। राजधानीको सम्मान भवनमा आज आयोजित एक कार्यक्रमबीच मुख्यमन्त्री प्रेमसिंह तामाङको बाहुलीद्वारा शिल्पकार राईलाई सम्मानित गरियो।

सिक्किम अकादमीद्वारा आयोजित कार्यक्रमलाई सम्बोधित गर्दै मुख्यमन्त्री तामाङले भाषा, साहित्य, सङ्गीत, चित्रकला लगायत कलाका विभिन्न विधाहरूमा सिर्जनाकर्ताहरूलाई सम्मान र प्रोत्साहन गर्न सिक्किम अकादमीले वार्षिक रूपमा पुरस्कार प्रदान गर्दै आएको बताए। यस वर्ष परम्परागत बाँस शिल्पकलाका एक प्रख्यात शिल्पकार भरत राई पुरस्कृत बनेकोमा मुख्यमन्त्रीले उनलाई बधाई दिए। उनले शिल्पकार राईका समर्पण र दृढ़ताले सिक्किमेहरूलाई प्रेरित गरिरहेको बताए।

मुख्यमन्त्रीले 2019 देखि शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, प्रविधि, साहित्य, सङ्गीत र कलाको क्षेत्रमा उत्कृष्टका लागि प्रयासरत सिक्किमे नागरिकहरूलाई सरकारले समर्थन गर्दै आएको बताए। उनले यी प्रयासहरू ग्रामीण क्षेत्रहरूमा फैलिएको बताउॅंदै सरकारले समकालीन र परम्परागत दुवै क्षेत्रमा प्रतिभा पहिचान, उत्थान र मान्यता जारी राखेको उल्लेख गरे।

समारोहलाई सिक्किमको रचनात्मक भावनाको जीवन्त उत्सव बताउॅंदै मुख्यमन्त्रीले उपस्थित सर्जक, साहित्यकार, विद्वान, सङ्गीतकार, अनुसन्धानकर्ता र नवप्रवर्तकहरूले राज्यको सांस्कृतिक पहिचानलाई आकार दिइरहेको र भावी पुस्तालाई प्रेरणा दिइरहेको बताए। उनीहरूको योगदानले भारत र विश्वभर सिक्किमको धरोहरको उचाइ कायम राखेको उनले बताए।

मुख्यमन्त्रीले भने, तीव्र प्राविधिक प्रगति र कृत्रिम बुद्धिमत्ताको प्रभुत्वको युगमा लेखक र साहित्यकारहरूले गहिराइ, भावना र मानवीय अन्तर्दृष्टिसहित सिर्जना गर्नु अझ आवश्यक बनेको छ। प्रविधिले जानकारी प्रदान गर्न सक्छ, तर साहित्यले ज्ञानको संरक्षण गर्छ र समाजको आत्माको रक्षा गर्छ।

यस अवसरमा मुख्यमन्त्री लगायत अन्य अतिथिहरूको बाहुलीद्वारा 'आधुनिक भारतको निर्माणमा भारतीय नेपाली/ नेपाली भाषी भारतीयहरूको भूमिका र योगदान' नामक पुस्तक लगायत अन्य पुस्तकहरू लोकार्पित गरियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande