गान्तोक, 23 मई (हि.स.)। भारतीय जनता पार्टी, सिक्किमको आज सिङ्तामस्थित राज्य पार्टी मुख्यालयमा कार्यकारी समितिको एक महत्वपूर्ण बैठक आयोजन गरियो। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आगामी 29 मई, 2025 का दिन सिक्किम भ्रमणमा आइरहेका छन्। प्रधानमन्त्रीको भव्य स्वागत सुनिश्चित गर्न पार्टीको भूमिकाको रणनीति तयार गर्नु र समन्वय गर्नु बैठकको मुख्य विषय रहेको प्रदेश मिडिया प्रभारी निरेन भण्डारीले विज्ञप्तिमा बताएका छन्।
बैठक भाजपा सिक्किम प्रदेश अध्यक्ष डीआर थापाको अध्यक्षतामा भएको थियो र बैठकमा राज्य कार्यकारिणी समितिका सदस्यहरूको उपस्थिति थियो। छलफलको क्रममा समितिले सर्वसम्मतिले प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनको आगामी भ्रमणको लागि हार्दिक आभार व्यक्त गरेको छ। भ्रमण सिक्किमका जनताको लागि विशेष महत्व राख्छ र राज्यको विकास र कल्याणप्रति केन्द्रिय नेतृत्वहरूको निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ भनी विज्ञप्तिमा उल्लेख गरिएको छ।
अध्यक्ष डीआर थापाले प्रधानमन्त्रीको भ्रमण अत्यन्तै गौरवको विषय रहेको बताउॅंदै यसलाई विकसित भारत र विकसित सिक्किमको राष्ट्रिय दृष्टिकोणमा सिक्किमको सक्रिय सहभागितालाई पुन: पुष्टि गर्ने अवसर रहेको बताए। उनले सबै पार्टी कार्यकर्ताहरूलाई तयारीमा पूर्ण रूपमा समर्पित हुन र प्रधानमन्त्रीलाई न्यानो र सम्मानजनक स्वागत प्राप्त होस् भन्ने सुनिश्चित गर्न आह्वान गरे।
तयारीको एक भागको रूपमा पार्टीले राज्य कार्यकारिणीका विभिन्न सदस्यहरूलाई विशिष्ट जिम्मेवारी सुम्प्यो। यसमा प्रोटोकल व्यवस्थापन, स्थानीय प्रशासनसँग समन्वय, मिडिया संलग्नता, स्वयंसेवक परिचालन र जनसम्पर्क समावेश छन्। भाजपा सिक्किमले प्रधानमन्त्रीको भ्रमणलाई स्मरणीय र प्रभावशाली बनाउन सिक्किम सरकार र जनतालाई सबै सहयोग प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई दोहोर्याएको छ।
बैठकपछि, प्रदेश अध्यक्ष थापाले सिङताम बजारमा चलिरहेको सेवा एवं सम्पर्क अभियानको पनि भ्रमण गरे। उनले मानिसहरूसॅंग अन्तरक्रिया गरे र प्रधानमन्त्री नरेन्द्र मोदीको गतिशील नेतृत्वमा भाजपा सरकारले शुरु गरेका विभिन्न कल्याणकारी योजनाहरू र पहलहरूको पूर्ण लाभ लिन आग्रह गरे।
हिन्दुस्थान समाचार / बिशाल