गान्तोक, 23 मई (हि.स.)। सिक्किम सरकारको सडक तथा पुल विभागले दोजो फाटक, साङ्मु-दोजोक मार्गमा पर्ने जिर्ण अवस्थामा रहेको फलाम पुलको मर्मत तथा पुनःनिर्माण कार्य सफलतापूर्वक सम्पन्न गरेको छ। यो महत्वपूर्ण पूर्वाधारको मर्मतसम्भार याङगाङ राङगाङ निर्वाचन क्षेत्रकी विधायक एवं सिक्किम विधानसभाकी उपाध्यक्ष राजकुमारी थापाकाे निर्देशनमा र याङयाङस्थित सडक तथा पुल विभागका सहायक अभियन्ताको मार्गदर्शनमा सम्पन्न गरिएको बताइएको छ।
विज्ञप्ति अनुसार, यो पुल दोजोक तथा वरपरका गाउँहरूका बासिन्दाहरूका लागि अत्यावश्यक सम्पर्क मार्ग हो, जसले बजार, विद्यालय तथा अन्य आवश्यक सेवा सुविधासम्म पुग्न सहज बनाएको छ। मर्मतपूर्व पुलको खराब अवस्थाका कारण विशेष गरी वर्षायाममा खोला पार गर्न निकै कठिनाइ हुने गरेको थियो। समयमै मर्मत कार्य सम्पन्न भएकाले स्थानीय समुदायबाट यस कार्यप्रति व्यापक प्रशंसा प्रकट गरिएको छ।
दोजोकका बासिन्दाहरूले क्षेत्र विधायक थापा, मुख्यमन्त्रीका ओएसडी कर्मा सुब्बा, जिल्ला पञ्चायत सदस्य यपचुङ भोटिया, पञ्चायत सदस्यहरू, सडक तथा पुल विभागका अधिकारीहरू र पीडब्ल्यूडीका श्रमिकहरूप्रति हार्दिक आभार व्यक्त गरेका छन्।
सहकार्य, समर्पण र प्रतिबद्धताका साथ सम्पन्न यो परियोजनाले स्थानीय पूर्वाधारको पुनःस्थापना मात्र नभई राज्य सरकार नागरिकका आवश्यकता समयमै सम्बोधन गर्न कटिबद्ध रहेको कुरा पुनः पुष्टि गरेको बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल