साहित्यकारहरूले गोर्खाको जनसङ्ख्या बचाउनुपर्छ भन्ने विषयमा पनि लेख्नुपर्छ: अनित थापा
दार्जिलिङ, 24 मई (हि.स.)। नेपाली साहित्य सम्मेलन दार्जिलिङले आज आफ्नो भवनमा साहित्य सम्मेलन स्थापनाको शतवार्षिकी समारोह आयोजन गऱ्यो। दुई दिवसीय कार्यक्रमको पहिलो दिन गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा विशेष रूपमा उपस्थित रहेका थिए। यस अवसरमा साहित्य सम्मेलन दार्जिलिङको अध्यक्ष सीके राई र महासचिव महेन्द्र प्रधान, बीजीपीएम पार्टीका महासचिव अमर लामा र दार्जिलिङ नगरपालिकाका अध्यक्ष दिपेन ठकुरी लगायत अन्यहरू उपस्थित थिए।
आफ्नो सम्बोधनमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले भने, साहित्यकारहरूले गोर्खाको जनसङ्ख्या बचाउनुपर्छ भन्ने विषयमा पनि लेख्नुपर्छ। जनसङ्ख्या बढ्यो भने जाति बाँच्छ। जाति बाँचे भाषा बाँच्छ, संस्कृति बाँच्छ, साहित्य बाँच्छ। गोर्खाको जनसङ्ख्या बचाऊ अभियानमा हामी लाग्नुपर्छ।
उनले भने, 'सुधपाको सोचको कारण आज हामी नेपाली साहित्य सम्मेलन भवनमा भाषा साहित्यको चर्चा गर्दैछौं। एक सय वर्ष अघिको सोचको कारण आज हामी एक जगहमा भेला भएका छौं। साहित्य एक ठाउँमा छ, राजनीति आफ्नो ठाउँमा छ। म गलत पनि हुनसक्छु, मलाई लाग्छ राजनीति र साहित्यलाई मुच्छ्नु हुँदैन। राजनीतिमा साहित्यकारलाई मुच्छ्ने हुँदा साहित्यकारले धेरै दुःख पनि पाएको छ।
अनित थापाले अघि भने, म सकरात्मक परिवेश सृजना गर्न चाहने व्यक्ति हुँ। म डाटा अनुसार बोल्दैछु। हाम्रो पहाडमा पहिला दुईवटा बुथ थियो, अहिले दुई बुथ एक बुथ भएको छ। हाम्रो जाति मासिॅंदैछ। तपाईहरुले लेख्नु भएको साहित्य पढ्ने व्यक्ति पाउनु हुन्न। त्यसै त गोर्खा समाज अल्प संख्यकमा रहेको छ, हाम्रो जनसङ्ख्या अझ घट्दै जाँदैछ।
थापाले अझ भने, तपाईहरुको हातमा कलम छ। गोर्खाको जनसङ्ख्यामाथि लेख्नुहोस्। गोर्खा समाजमा जनसङ्ख्या दिनहुँ घट्दै जाँदैछ। गोर्खाको जनसङ्ख्या बढाउनुपर्छ। जाति बाँच्यो भने मात्र भाषा पनि बाँच्छ। यदि जाती नै मासियो भने हाम्रो साहित्य कसले पढ्ने? कसले लेख्ने? साहित्यकारहरूले गोर्खाको जनसङ्ख्या बचाउनु पर्छ भन्ने विषयमा पनि लेख्नुपर्छ।
हिन्दुस्थान समाचार / हनोक