पत्रकार पुरण तामाङ 'राम पात्रो मेमोरियल अवार्ड फर् एक्सिलेन्स इन् जर्नलिज्म 2024-25' ले सम्मानित
पत्रकार पुरण तामाङ सम्मानित


- सांसद सुब्बाले पत्रकारितामा विश्वसनीयतामाथि दिए जोड

गान्तोक, 24 मई (हि.स.)। सिक्किमको एक प्रतिष्ठित अङ्ग्रेजी दैनिक समाचार पत्र 'समिट टाइम्स' का सम्पादक पुरण तामाङलाई 'राम पात्रो मेमोरियल अवार्ड फर् एक्सिलेन्स इन् जर्नलिज्म 2024-25' ले सम्मानित गरिएको छ। देवरालीको स्थानीय एक होटलमा आज आयोजित राम पात्रो स्मारक पुरस्कार समारोहमा पत्रकार तामाङलाई उक्त पुरस्कारले सम्मानित गरियो।

सिक्किमको सबैभन्दा पुरानो अङ्ग्रेजी दैनिक समाचार पत्र सिक्किम एक्सप्रेसद्वारा आयोजित कार्यक्रममा मुख्य अतिथिको रूपमा उपस्थित लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाको बाहुलीद्वारा पत्रकार तामाङलाई अंगवस्त्र, स्मृतिचिन्ह, अभिनन्दन पत्र र नगद राशि अर्पण गरियो। पत्रकार तामाङले सिक्किमेली पत्रकारिताको क्षेत्रमा पुऱ्याएको उल्लेखनीय योगदानको निम्ति उनलाई उक्त प्रतिष्ठित पुरस्कारले सम्मानित गरिएको हो।

यसैगरी, पत्रकार कुशहाङ लीवाङलाई सिक्किम एक्सप्रेस र हिमाली बेलामा 'बेस्ट वर्किङ जर्नलिस्ट अवार्ड 2024–25' ले सम्मानित गरियो। पत्रकार लीवाङलाई विशिष्ट अतिथि अप्पर बुर्तुक निर्वाचन क्षेत्रकी विधायक कला राईको बाहुलीद्वारा अंगवस्त्र, स्मृतिचिन्ह, अभिनन्दन पत्र र नगद राशि अर्पण गरियो।

कार्यक्रममा सिक्किम एक्सप्रेसका कर्मचारी सुमन राईलाई उनको समर्पित सेवाको निम्ति 'प्रशंसा पत्र' द्वारा सम्मानित गरियो। विशिष्ट अतिथि गान्तोक निर्वाचन क्षेत्र विधायक दिले नामग्याल बर्फुङपाको बाहुलीद्वारा राईलाई प्रशंसा पत्र अर्पण गरियो।

मुख्य अतिथि सांसद डा. सुब्बाले आफ्नो सम्बोधनमा वर्तमान सोशियल मिडियाको समयमा पत्रकारिताका चुनौतीहरूको उल्लेख गर्दै विश्वसनीय र तथ्यमा आधारित समाचार सम्प्रेषणमाथि जोड दिए। विश्वसनीयता पत्रकारिताको आत्मा रहेको आसय व्यक्त गर्दै उनले विश्वसनीयता बिना पत्रकारिताको पनि अस्तित्व बाच्न नसक्ने विचार व्यक्त गरे।

सांसद सुब्बाले मिडिया हाउसहरूबीच पनि प्रतिस्पर्धा हुनु स्वाभाविक रहेको, तर यस क्रममा विश्वसनीयतालाई अदेखा गर्नु हुॅंदैन भनी मन्तव्य राखे। अहिले सोशियल मिडियाको समयमा गलत सूचना मिडियाको निम्ति ठूलो चुनौती बनेको छ भन्दै यसमा मिडियाको भूमिका महत्वपूर्ण रहेको उनले बताए। मिडियामा प्रकाशित विश्वसनीय खबरहरूले सरकारलाई पनि नीति निर्धारिणमा मद्दत पुग्दछ भनी बताए।

यस अघि विशिष्ट अतिथि विधायक कला राईले साहसिक कार्य गर्ने र सत्यलाई सदैव पछ्याउने पेशा भनेको पत्रकारिता मात्र रहेको मन्तव्य व्यक्त गरिन्। पत्रकारिताका कतिपय कमि-कमजोरीहरू औल्याउॅंदै उनले जस्तै परिस्थिति आइपरे पनि सत्यको बाटो कहिल्यै नछोड्नु भनी पत्रकारहरूलाई हौसला प्रदान गरिन्। उनले पत्रकारहरूलाई निष्पक्ष बन्न तथा जनताको पक्षमा सत्य तथ्यहरू समाज समक्ष राखिरहने आह्वान पनि गरिन्।

यसैगरी, विशिष्ट अतिथि विधायक बर्फुङपाले इमान्दारीपूर्वक आफ्नो कार्य गरिरहन सुझाउ राख्दै कर्मको फल अवश्य प्राप्त हुनेछ भनी बताए।

कार्यक्रमलाई सम्मानित पत्रकारद्वय पुरण तामाङ र कुशहाङ लवाङले पनि सम्बोधन गरेका थिए। सिक्किम एक्सप्रेसका सम्पादक अमित पात्राले स्वागत सम्बोधन राखेको कार्यक्रममा राज्य सूचना एवं जन सम्पर्क विभागकी सचिव अन्नपूर्ण आले, विभागका अधिकारीहरू, राम पात्रो स्मारक पुरस्कार कमिटीका पदाधिकारीहरू, पत्रकारहरू तथा अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande