खरसाङ, 25 मई (हि.स.)। भारतीय भूतपूर्व सैनिक संगठन खरसाङ युनिटको 31 औं वार्षिक साधारण सभा आज खरसाङको नयाँ बजारस्थित टाउन सार्वजनिक भवनमा सम्पन्न भयो। उक्त वार्षिक साधारण सभाको अध्यक्षता खरसाङ युनिटका अध्यक्ष मेजर डीके गुरुङले गरेका थिए भने प्रमुख अतिथिको रूपमा कर्णेल अमीत आश्रय उपस्थित थिए।
अतिथिहरुका बाहुलीबाट झण्डा उत्तोलन र कार्यक्रम हलमा निर्मित शहीद वेदीमा श्रद्धाञ्जली अर्पण गरेर थालिएको कार्यक्रममा अनरेरी कप्तान नोर्देन शेर्पाले संगठनको वार्षिक प्रतिवेदन पेश गरेका थिए। उनले संगठनको विभिन्न कार्यहरु विषयमा पनि जानकारी गराए। अहिले संगठनमा 750 जना सदस्यहरु रहेको र आगामी वर्ष एक हजार पुग्ने उनले जानकारी गराए। उनले संगठनमा सबैलाई जोडिन आह्वान गर्दै संगठनमा जोडिएर भूतपूर्व सैनिकहरुले आफूले पाउने सहुलियतहरु प्राप्त गर्न सक्ने पनि बताए।
कार्यक्रममा पुरानो कमिटी विघटन गरिएको घोषणा अध्यक्षले गरेपछि नयाँ कमिटी गठन गरियो। यस नयाँ कमिटीमा सचिव हवल्दार पुरण थापा र सह सचिवको रुपमा सीपीओ रोशन थापा चयन भएका छन् भने अन्य पदाधिकारीहरु पुरानै चयन भएका छन्।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित कर्णेल अमीत आश्रयले फौजमा एकपल्ट भर्ना भएपछि कहिले पनि भूतपूर्व हुँदैनन् भन्दै सेना भएपछि उसको खूनमा सदैव सेनाको खून हुन्छ भनी बताए। उनले भने, कुनै पनि समय देशलाई आवश्यकता परेमा भूतपूर्व सैनिक भए पनि सबैजना देशको सुरक्षाको लागि हतियार उठाउन तत्पर रहन्छन्। कर्णेल अमीत आश्रयले भूतपूर्व सैनिकहरुको कुनै पनि समस्या छ सोझै भनिदिन निवेदन गर्दै आफू कुनै पनि प्रकारको सहयोग गर्न तयार रहेको बताए।
यस कार्यक्रममा 1971 सालको लडाई लडेका सुबेदार बीएल राई र अनरेरी कप्तान टाँसी लामालाई पनि सम्मान जनाइयो। कार्यक्रममा संगठनका कोषाध्यक्ष हवल्दार जीवन छेत्रीले आय व्ययको विवरण प्रस्तुत गरे।
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा उपस्थित अवकाशप्राप्त कर्णेल एवं भूतपूर्व सैनिक सिलगढीका सभापति एम गफरले वक्तव्य राखेको खरसाङ युनिटका वर्तमान सचिव हवल्दार पुरण थापाले जानकारी गराएका छन्।
हिन्दुस्थान समाचार / हनोक