नेपाली साहित्य सम्मेलन दार्जिलिङको दुई दिवसीय शतवार्षिकी समारोहको समापन
नेपाली साहित्य सम्मेलन दार्जिलिङको दुई दिवसीय शतवार्षिकी समारोहको समापन


- दार्जिलिङ भेक भारतमा नेपाली भाषा, साहित्य अनि संस्कृतिको मूल थलो एवं स्रोत रहेको तथ्य निर्विवाद छ: सांसद राजु विष्ट

दार्जिलिङ, 25 मई (हि.स.)। नेपाली साहित्य सम्मेलन दार्जिलिङको दुई दिवसीय शतावार्षिकी समारोहको समापन भएको छ। शनिवारदेखि शुरू भएको यस दुई दिवसीय शतवार्षिकी समारोहमा‌ दार्जिलिङ, सिक्किम, नेपाल, दिल्ली, पूर्वाञ्चल क्षेत्रका वरिष्ठ साहित्यकारहरुको जमघट देखियो। नेपाली साहित्य सम्मेलन दार्जिलिङको दुई दिवसीय शतवार्षिकी समारोहको अन्तिम दिन दार्जीलिङका सांसद राजु विष्ट विशिष्ट अतिथिको रुपमा उपस्थित रहेका थिए।

सम्मेलनको शतावार्षिकी समारोहमा विभिन्न रंगारंग कार्यक्रम प्रस्तुतिबीच नेपाली साहित्यमाथि विभिन्न विषयहरुमा चर्चा परिचर्चा गरिएको थियो। उक्त समारोहमा सिक्किम राज्यबाट साहित्यकारहरूले पनि आफ्नो उपस्थिति दिएका थिए। नेपाली साहित्य र नेपाली साहित्य सम्मेलनलाई जगेरा गरेर राख्नु पर्ने समारोहमा उपस्थित सम्पूर्ण साहित्यकारहरू लगायत राज नेताहरु साथै जनसाधारणको एउटै सोच र वक्तव्य रहेको थियो।

सांसद राजु विष्टले पत्रकारहरुलाई सम्बोधन गर्दै भने, '२५ मई १९२४ मा स्थापित यस सम्मेलनले आफ्नो स्थापनाको सय वर्षको यात्राकालमा भारतमा नेपाली भाषा, साहित्य एवं संस्कृतिको संरक्षण, विकास अनि प्रचार-प्रसारमा ठूलो योगदान गरेको सर्वविदितै छ। वास्तवमा, दार्जिलिङ भेक भारतमा नेपाली भाषा, साहित्य अनि संस्कृतिको मूल थलो एवं स्रोत रहेको तथ्य निर्विवाद छ। छिमेकी राष्ट्र नेपालमा भन्दा पनि पहिले भारतको यस भेकमा नेपाली भाषा र साहित्यसँग सम्बन्धित संघ-संस्थाहरूको स्थापना भएको तथ्य पनि त्यतिकै सत्य छ, जसमध्ये ‘नेपाली साहित्य सम्मेलन, दार्जिलिङ’ यसप्रकारको जेठो संस्था हो।

उनले भने, ‘नेसास, दार्जिलिङ’-ले भारतमा नेपाली भाषा, साहित्य, संस्कृतिको विकासमा रक्त-सञ्चारक मुटुको भूमिका निर्वाह गरेको हो भन्दा अतिशयोक्ति नहोला। यसका गतिविधिहरूले भारतभरि छरिएर बसेका नेपाली भाषीहरूलाई उत्प्रेरित र उद्वेलित गर्ने काम गरेको इतिहास रहेको छ। भारतका विभिन्न राज्यमा बसोबासो गर्ने नेपाली भाषीहरूले आफ्नो मातृभाषा नेपाली सम्बन्धी भाषिक-सांस्कृतिक गतिविधिहरूसँगै यहाँबाट प्रकाशित र प्रचारित हुने साहित्यलाई नियालेर हेर्ने गर्दै आएको इतिहास छ।'

सांसद राजु विष्टले अघि भने, आफ्नो भाषा र साहित्यको जगेर्ना गर्दै भारतीय नेपाली वा भनौँ गोर्खा जातिको विशिष्ट चिनारीका लागि लागिपरेका हाम्रा सबै अग्रजहरूलाई समेत मैले हार्दिक श्रद्धाञ्जली टक्र्याएँ। यस ऐतिहासिक क्षणको साक्षी बन्नका लागि छिमेकी देश नेपाल, अन्य विदेशी मुलुकहरू अनि भारतका विभिन्न राज्यबाट पाल्नुभएका विद्वतजन, अनि समारोहमा उपस्थित स्थानीय साहित्यकारहरू तथा भाषा-साहित्यप्रेमीहरूलाई अभिवादन र स्वागत जनाएँ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande