लोकतन्त्रमा विपक्षको भूमिकालाई बेवास्ता गर्ने सरकारको चरित्र दुखद: एसडीएफ
लोकतन्त्रमा विपक्षको भूमिकालाई बेवास्ता गर्ने सरकारको चरित्र दुखद: एसडीएफ


गान्तोक, 25 मई (हि.स.)। विपक्षी एसडीएफ पार्टीले वर्तमान सरकारमाथि विपक्षको भूमिकालाई बेवास्ता गरेको आरोप लगाएको छ। सरकारको यस कार्यप्रति एसडीएफले दु:ख प्रकट गर्दै पत्रकार जगतको ध्यान आकर्षित गराएको छ।

एसडीएफ पार्टीको प्रचार प्रसार प्रभारी एवं प्रवक्ता एमएन दाहालले आज जारी प्रेस विज्ञप्तिमा यस आसयको जानकारी गराएका छन्। उनले सिक्किम राज्यले लोकतन्त्र उपभोग गरेको पचास वर्ष पुग्यो, तर विगत 50 वर्षमा भएका प्रगतिको लेखाजोखा र आगामी दिनहरूका निम्ति मार्गदर्शनभन्दा पनि वर्तमान सरकारले आफ्नो उपलब्धिहरूको प्रचारलाई केन्द्र गरी कार्यक्रम आयोजना गरिरहेको आरोप लगाएका छन्।

उनले सिक्किम सरकारका प्रमुख प्रशासक बीवी पाठकको आलोचना गर्दै लोकतन्त्रमा विपक्षको भूमिकालाई बेवास्ता गर्ने प्रमुख प्रशासक पाठकसमेत सरकारको यस चरित्रप्रति एसडीएफ पार्टी दु:ख व्यक्त गर्दछ भनेका छन्। अर्कोतिर, प्रवक्ता दाहालले विगत केही समययता केही नवीन प्रचारमाध्यमहरुले विपक्षका समाचारहरुलाई महत्व नदिएको आरोप पनि लगाएका छन्।

उनले भनेका छन, पत्रकरिता एक गतिशील अनि व्यापक क्षेत्र हो, जसमा निष्पक्ष समाचार संकलन, विश्लेषण, सूचना आदि हुन्छन्। भन्नु नै हो भने जनसञ्चार माध्यममा दुनियाँको नक्सा बद्लनसक्ने ताकत हुन्छ। पत्रकारिताको सबैभन्दा महान सिद्धान्त सत्य हो, त्यसैले जनसञ्चार माध्यममा आएका कुनै पनि खबरलाई जनताले सत्य मान्दछन्। पत्रकारिता जगतले लोकतन्त्रलाई समर्थन नदिए लोकतन्त्र मात्र होइन, पूरा व्यवस्था नै लङ्गड़ो हुन्छ।

उनले अझ भनेका छन्, विगत 50 वर्षको इतिहासमा सिक्किमको पत्रकारिताले उच्च मर्यादा स्थापित गर्न सफल भएको थियो। विगत केही समययता सञ्चार माध्यम डिजिटल दुनियाँमा प्रवेश गरेपछि यस जगतले आफ्नो स्वतन्त्रतासित सम्झौता गरेको भान हुन्छ। सिक्किमले आज जति प्रगति गरेको छ, त्यसको पछि पत्रकार जगतको पनि ठूलो भूमिका रहेको छ। विगतमा पत्रकारहरुले सिक्किमको लोकतान्त्रिक विकासका निम्ति पुऱ्याएको योगदानका निम्ति एसडीएफ पार्टीले आभार व्यक्त गरेको छ। साथै, उनले सत्यनिष्ठा अनि निष्पक्षतामा आधारित पत्रकरिता निर्माणका निम्ति प्रयास गर्नेछ भन्ने विश्वास व्यक्त गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande