गान्तोक, 26 मई (हि.स.)। सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीका सेक्रेटरी जेनरल एवं राज्य ग्रामीण विकास विभागका मन्त्री अरुण उप्रेतीले कुनै पनि राज्यमा देशका प्रधानमन्त्रीको भ्रमण हुनु भनेको ठूलो कुरा रहेको बताएका छन्। राजधानीको पाल्जोर स्टेडियममा चलिरहेको प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावित कार्यक्रमको तयारीको बारेमा मिडियाकर्मीहरूसॅंग कुराकानी गर्दै मन्त्रीले उक्त कुरा भनेका हुन्।
मन्त्री उप्रेतीले आगामी 29 मईका दिन प्रधानमन्त्री नरेन्द्र मोदीले पाल्जोर स्टेडियमबाट सिक्किमे जनतालाई सम्बोधित गर्नेछन् भने। उनले कुनै पनि राज्यमा देशका प्रधानमन्त्रीको भ्रमण हुनु, यहॉंका जनता र नेताहरूसॅंग भेट गर्नु भनेको ठूलो कुरा रहेको बताए। एक प्रश्नको जवाफमा उनले प्रधानमन्त्री समक्ष राज्य सरकारको तर्फबाट कुनै मागहरू राख्ने कार्यक्रम अहिले निर्धारित नरहेको स्पष्ट गरे।
उनले मुख्यमन्त्री प्रेमसिंह तामाङ आज नयॉं दिल्लीको आधिकारिक भ्रमणबाट सिक्किम फर्किएको र सोझै पोल्जोर स्टेडियम आएर तयारी कार्यको बारेमा जानकारी लिएको बताए। तयारी कार्यहरूको निरीक्षणपछि मुख्यमन्त्रीले कतिपय सुझाउहरू पनि राखेको उनले अवगत गराए। उनले उक्त दिन एक लाख मानिसहरू भेला हुने सम्भावना व्यक्त गर्दै मानिसहरू पाल्जोर स्टेडियम लगायत बाटोमा प्रधानमन्त्रीको स्वागतको निम्ति बस्नेछन् भनी बताए।
सेक्रेटरी जेनरल उप्रेतीले प्रधानमन्त्रीको कार्यक्रमको दिन सिक्किमे जनतालाई अनुशासन पालन गरिदिन र दिशानिर्देशन अनुसार काम गरिदिन अनुरोध गरे। उनले बिहान प्रधानमन्त्रीको आगमन र प्रस्थानको समयमा सुरक्षालाई ध्यानमा राख्दै एक-दुई घण्टासम्म राष्ट्रिय राजमार्ग वाहनहरूको चलाचल बन्द गरिन सक्छ भनी जानकारी गराए। उनले प्रधानमन्त्रीको आगमन र प्रस्थान भइसकेपछि पुन: वाहनहरूको चलाचल सामान्य बन्ने बताए। यस अवधि, यदि कसैलाई इमरजेन्सी काम आइलागेको खण्डमा वैकल्पिक मार्ग अपनाइदिन सुझाउ राखे।
उनले उक्त दिन प्रधानमन्त्रीको सम्बोधन मुख्य कार्यक्रम रहेको बताए। यस अतिरिक्त, रंगारंग कार्यक्रम पनि रहने उनले जानकारी गराए।
हिन्दुस्थान समाचार / बिशाल