गान्तोक, 26 मई (हि.स.)। सिक्किमको अभिभावक देवताको रूपमा पूजा गरिने माउण्ट कञ्चनजङ्घाको हालैमा गरिएको आरोहणपछि चौतर्फी विरोध शुरू भएको छ। यस क्रममा आज सिक्किम भोटिया लेप्चा एपेक्स कमिटी (सिब्ल्याक), सिक्किम शेर्पा प्रोटेक्सन फोर्स लगायत अन्य संघ संस्थाहरूले पनि कञ्चनजङ्घा आरोहणको तीव्र विरोध जनाएका छन्।
राजधानीस्थित जर्नलिस्ट युनियन अफ् सिक्किममा आज आयोजित एक पत्रकार सम्मेलनमा सिब्ल्याक महासचिव साङ्गे ग्याछो भोटियाले सिक्किम सरकारको धर्म विभाग र संघ विधायक सिक्किमेहरूको आस्था, भावना र धार्मिक पहिचानको सुरक्षा गर्न विफल बनेको आरोप लगाए। उनले पवित्र कञ्चनजङ्घा पर्वतको रक्षा गर्ने कानुन हुॅंदाहुॅंदै पनि रक्षा गर्नु नसकेकोमा दु:ख व्यक्त गरे।
उनले आफ्नो आस्था र देवतामाथि कसैले खुट्टा राख्दा चुप लागेर बस्नु सकिॅंदैन भनी बताए। यस कार्यले पवित्र कञ्चनजङ्घामाथि आस्था राख्नेहरूको मन दुखेको छ र भावनामा आघात पुगेको छ भने। उनले 2021 मा जारी गरिएको अधिसूचना अक्षरस पालन गरिनुपर्छ, प्लेसेस् अफ् वरशिप एक्ट, 1991 को उल्लंघन भएकोमा राज्य सरकारले सार्वजनिक रूपमा यसको भत्सर्ना जनाउनु पर्छ, भविष्यमा फेरि सिक्किम अथवा नेपालबाट आरोहरण रोक्न राज्य सरकारले केन्द्र सरकारका सम्बन्धित निकाय समक्ष यो कुरा उठाउनु पर्छ भन्ने माग राखे। यसैगरी, उनले कञ्चनजङ्घा पर्वतको आरोहण गर्नेहरूले पनि सार्वजनिक रूपमा माफी माग्नुपर्छ भन्ने माग राखेका छन्।
यस अघि सिक्किम शेर्पा प्रोटेक्सन फोर्सका अध्यक्ष सोनाम ग्याछो शेर्पाले कञ्चनजङ्घा पर्वत आरोहणको विरोध जनाउॅंदै सिक्किम सरकारको मौनताप्रति प्रश्न उठाए। उनले पवित्र कञ्चनजङ्घा पर्वतमा आरोहण प्रतिबन्धित हुॅंदाहुॅंदै पनि आरोहणको निम्ति कसरी अनुमति पाए भन्दै आश्चर्य प्रकट गरे। उनले यस सम्बन्धमा आफ्नो आत्ति जनाउॅंदै राज्यका मुख्य सचिव, धर्म विभाग सचिव र धर्म विभाग मन्त्रीलाई पत्राचार गरिएको जानकारी गराए। उनले प्रधानमन्त्री समक्ष पनि यो कुरा उठाउने बताए।
हिन्दुस्थान समाचार / बिशाल