खरसाङ, 26 मई (हि.स.)। खरसाङ नगरपालिकाको अवकाशप्राप्त कर्मचारीहरु अन्तत: मैदानमा उत्रिन बाध्य बनेका छन्।
अवकाशप्राप्त सरकारी कर्मचारीहरुले पाउने हक पेन्शन, ग्रेच्युटी इत्यादि यतिका दिनसम्म पनि नपाएपछि अवकाशप्राप्त कर्मचारीहरुले खरसाङ नगरपालिका अवकाशप्राप्त कर्मचारी संगठन गठन गरेर आफ्ना मागहरु खरसाङ नगरपालिकाको बोर्ड अफ् एडमिनिस्ट्रेशनका चेयरम्यान ब्रिगेन गुरुङ र भाइस चेयरम्यान सुवास प्रधानलाई ज्ञापन बुझाएका थिए। यसका साथै यसै महिना पनि पुनः ज्ञापन पत्र बुझाएका थिए। तर, उक्त ज्ञापन पत्रको कुनै प्रतिउत्तर नआएपछि यस विषयमा कर्मचारी संगठनले खरसाङ नगरपालिकाको कार्यालय परिसरमा साथै खरसाङ बजारका विभिन्न स्थानहरुमा पोस्टरिङ गरेको जानकारी प्राप्त भएको छ।
आफ्नो मागहरू लिएर खरसाङ नगरपालिकाको अवकाशप्राप्त कर्मचारी संगठनले आजदेखि सडकमा निस्किएर विरोध शुरु गरेको छ। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै पूर्व कर्मचारी प्रितमकुमार छेत्रीले उनीहरूको दोस्रो चरणको आन्दोलन अन्तर्गत पोस्टरिङ गरिएको र भोलिदेखि खरसाङ नगरपालिका कार्यालयमा धारना प्रदर्शन गरिने पनि बताएका छन्।
हिन्दुस्थान समाचार / हनोक