गान्तोक, 26 मई (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङ राष्ट्रिय राजधानी नयॉं दिल्लीको लगभग हप्ताव्यापी आधिकारिक भ्रमणपछि आज सिक्किम फर्किआएका छन्। भ्रमण अवधि मुख्यमन्त्रीले देशका प्रधानमन्त्री लगायत विभिन्न केन्द्रिय मन्त्रीहरूसॅंग भेट गरे भने नीति आयोग र राइजिङ नर्थइस्ट इन्भेस्टर्स समिटमा भाग लिए।
मुख्यमन्त्रीको यसपालीको दिल्ली भ्रमण सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्ती समारोह केन्द्रित थियो। उनले केन्द्रिय नेतृत्वहरूसॅंग भेट गरेर वर्षभरि चल्ने स्वर्ण जयन्ती समारोहमा सहभागिताको निम्ति निमन्त्रणा दिए। मुख्यमन्त्रीले प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह, वित्तमन्त्री निर्मला सीतारमण, उर्जामन्त्री मनोहरलाल खट्टर, लोकसभा अध्यक्ष ओम बिरला लगायत अन्य नेताहरूसॅंग भेट गरे।
यस अतिरिक्त, मुख्यमन्त्री विभिन्न महत्वपूर्ण बैठकहरूमा पनि सहभागी बने। उनी नीति आयोगको 10औं गवर्निङ काउन्सिलको बैठक, एनडीएको बैठक र भारत मण्डपममा आयोजित राइजिङ नर्थइस्ट इन्भेस्टर्स समिट 2025 मा सहभागी बने। यसैगरी, उनी इण्डिया टुडे ग्रुपद्वारा आयोजित सिक्किम@50 कन्क्लेभमा पनि सहभागी बने।
नयॉं दिल्लीबाट बागडुघ्रा हवाई अड्डा आइपुग्दा मुख्यमन्त्रीलाई सिक्किम सरकारका वरिष्ठ अधिकारीहरूले स्वागत जनाएका थिए। सिक्किम आइपुगेपछि मुख्यमन्त्री सोझै राजधानीको पाल्जोर स्टेडियम गए, जहॉं प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लिएर तयारी चलिरहेको छ। मुख्यमन्त्रीले कार्यक्रम स्थलको निरीक्षण गर्दै तयारीको बारेमा जानकारी लिएका थिए।
हिन्दुस्थान समाचार / बिशाल