गान्तोक, 26 मई (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङ नयॉं दिल्लीको आधिकारिक भ्रमणपछि आज सिक्किम फर्किए। उनी बागडुग्रा हवाई अड्डाबाट सोझै राजधानीको पाल्जोर स्टेडियम पुगे, जहॉं प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यक्रम प्रस्तावित रहेको छ। मुख्यमन्त्रीले पाल्जोर स्टेडियममा कार्यक्रम स्थलको निरीक्षण भ्रमण गर्दै तयारी कार्यहरूको प्रगतिको बारेमा जानकारी लिए।
उल्लेख्य, सिक्किमले राज्य स्थापनाको 50औं गौरवशाली वर्ष पूरा गरेको अवसरमा वर्षव्यापी कार्यक्रम आयोजना गरिरहेको छ। यस क्रममा आगामी 29 मईका दिन देशका प्रधानमन्त्री नरेन्द्र मोदी सिक्किम आइरहेका छन्। राजधानीको पाल्जोर स्टेडियममा आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री सहभागी हुनेछन् भने अहिले युद्धस्तरमा तयारी कार्य चलिरहेको छ।
मुख्यमन्त्री आज सोझै पाल्जोर स्टेडियम पुगेर तयारी कार्यको समीक्षा गरे। उनले तयारी कार्य युद्धस्तरमा चलिरहेको र सरकारी अधिकारीहरूका साथै पार्टी कार्यकर्ताहरूको सक्रिय सहभागिताप्रति खुशी व्यक्त गरेका छन्। मुख्यमन्त्रीले यस ऐतिहासिक अवसरमा देशका प्रधानमन्त्रीलाई स्वागत गर्नु हाम्रो लागि ठूलो गर्व र सम्मानको क्षण रहेको सामाजिक सञ्जालमा बताएका छन्। उनले यो कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन सबैलाई पूर्ण ह्रदयले योगदान गर्न आग्रह पनि गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल