गान्तोक, 26 मई (हि.स.)। राम मणिक प्रजापति फाउण्डेशनले कक्षा 10औं र 12औं श्रेणी उत्तीर्ण विद्यार्थीहरूलाई उच्च शिक्षा आर्जनको निम्ति सय प्रतिशत छात्रवृत्ति प्रदान गर्ने बताइएको छ। फाउण्डेशनले देशका विभिन्न राज्यहरू लगायत छिमेकी राष्ट्र नेपालमा विशेष रूपमा आर्थिक रूपले विपन्न परिवारका विद्यार्थीहरूलाई उच्च शिक्षा आर्जनमा समर्थन गर्दै आइरहेको बताइएको छ।
फाउण्डेशनका अध्यक्ष डा. सन्तोष शर्माले आज राजधानीमा जर्नलिस्ट युनियन अफ् सिक्किमको कार्यालयमा आयोजित एक पत्रकार सम्मेलनमा उक्त जानकारी दिए। फाउण्डेशनले यो छात्रवृत्ति योजना देशव्यापी रूपमा र नेपालमा पनि सञ्चालन गरिरहेको उनले बताए। उनले आर्थिक समस्याका कारण शिक्षालाई अगाडि बढाउन असक्षम विद्यार्थीहरूलाई फाउण्डेशनले छात्रवृत्ति प्रदान गर्ने बताए। उनले यस्ता विद्यार्थीहरूले फाउण्डेशनमा सम्पर्क गर्न सक्ने बताए।
अध्यक्ष डा. शर्माले छात्रवृत्ति अन्तर्गत एमबीबीएस शिक्षा सामेल नरहेको पनि जानकारी गराए। उनले छात्रवृत्तिको निम्ति विद्यार्थीहरूले पचास प्रतिशत अङ्कका साथ परीक्षा उत्तीर्ण गरेको हुनुपर्छ भने। छात्रवृत्तिको निम्ति चयनित विद्यार्थीहरूले नि:शुल्क शिक्षा आर्जन गर्न सक्नेछन् र पैसा पनि फर्काउनु पर्दैन भनी उनले बताए।
हिन्दुस्थान समाचार / बिशाल