गान्तोक, 27 मई (हि.स.)। सिक्किम राज्य स्थापनाको 50 औं वर्षगाँठको अवसरमा आगामी 29 मईका दिन देशका प्रधानमन्त्री नरेन्द्र मोदीको सिक्किम भ्रमणलाई मध्यनजरमा राख्दै विविध तयारी कार्यहरू भइरहेका छन्। यसै कार्यक्रम अन्तर्गत आज साँझ राजधानी गान्तोकको टाँसी नामग्याल एकाडेमी स्कूलको खेल मैदानबाट एकैचोटी 5 सय ड्रोनहरूको प्रदर्शन परीक्षण सफलतापूर्वक सम्पन्न गरियो।
एकैचोटि पाँच सय ड्रोनहरूको यो परीक्षणको दृश्य हेर्न लायकको थियो। यो दृश्य हेर्न र यो अद्भुत नजारालाई नजिकबाट हेर्न धेरै मानिसहरू टीएनए खेल मैदानमा पुगेका थिए। सिक्किम सरकारको मुख्यमन्त्रीका राजनीतिक सचिव विकास बस्नेत, एसकेएम सामाजिक सञ्जाल प्रकोष्ठका अध्यक्ष नविन दाहाल, गान्तोक सीएलसी अध्यक्ष सञ्जीब गुरूङ लगायत अन्य गन्यमान्य व्यक्तित्वहरू एवं विद्यार्थीहरूले यो रमणीय दृश्यको अवलोकन गरे।
रिहर्सलको क्रममा ड्रोन मार्फत सिक्किमको विविध पारम्परिक झलकहरू प्रस्तुत गरिएको थियो। देशका प्रधानमन्त्री नरेन्द्र मोदी एवं सिक्किम सरकारका मुख्यमन्त्री प्रेमसिंह तामाङको तस्बीर लगायत सिक्किम सरकारको शिशु समृद्वि योजना, मेरो रूख मेरो सन्तति योजना र सिक्किमका विविध जैवविविधता आदिका दृश्यहरू पनि ड्रोन शोमा प्रस्तुत गरिएको थियो। पॉंच सय ड्रोनहरूको पूर्ण प्रदर्शनी आगामी 29 मईमा आयोजना हुने बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल