खरसाङ, 27 मई (हि.स.)। 'गोर्खाल्याण्डको निम्ति जेल गएको पनि 12 वर्ष पुगेछ। न त गोर्खाल्याण्ड भयो, न त टाउकोदेखि केस नै हट्नु सक्यो।' उक्त कुरा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल एवं भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको संस्थापक अध्यक्ष अनित थापाले भनेका हुन्।
अनित थापाले आज जारी एक प्रेस विज्ञप्तिमा भने, '12 वर्ष अघिको आन्दोलनकारी हुँदा खाएको केसमा आज खरसाङ अदालतमा हाजिरी दिनु जानु पऱ्यो। होश पुऱ्याएर चलाएको आन्दोलनले मात्र हामीलाई गन्तव्यमा पुऱ्याउँछ। नत्र यसरी म जस्तै धेरै आन्दोलनकारीहरूले कोर्ट धाउनु परिरहन्छ।'
उनले 5 अगस्त, 2013 मा खरसाङ घरबाटै उनलाई पक्राउ गरिएको जानकारी गराएका छन्। उनले त्यस समय बिमल गुरूङको नेतृत्वमा गोर्खाल्याण्डको दोस्रो चरणको आन्दोलन चलिरहेको बताएका छन्। उनले त्यो दिन आन्दोलन समय जीटीएको पहिलो सभासद पक्राउ परेको थियो भनी बताएका छन्। उनले गोर्खाल्याण्डको निम्ति जेल गएको र सात महिना राजनीतिक बन्दी भएर जेल जीवन बिताएको बताएका छन्।
उनले अघि भनेका छन्, आज खरसाङ अदालत परिसरमा 2013 को केस लिएर हाजिरी दिनु पुग्दा ती दिनहरूको याद झल्झली आयो। 2013-14 मा खरसाङ क्षेत्रका हामी 28 जनालाई पक्राउ गरिएको थियो। गोर्खाल्याण्डको माग गर्दै थालिएको आन्दोलनमा हामीले आफ्नो सर्वस्व दिएका थियौँ।
उनले भने, 'माटो हामीलाई चाहिन्छ। चिन्हारीको खोजमा आज पनि हामी उकुसमुकुस नै छौं। तर के जेल नेल खाएर, कुटाई खाएर हाम्रो अधिकार हामीलाई प्राप्त हुन्छ? आन्दोलन बौद्धिक हुनुपर्छ। आन्दोलन समावेशी हुनुपर्छ। आन्दोलनको गन्तव्य, भविष्य अनि रणनीति हुनुपर्छ। आक्रोश अनि जोशले मात्र आन्दोलन निर्धारित गरिँदैन। होश पुऱ्याएर चलाएको आन्दोलनले मात्र हामीलाई गन्तव्यमा पुऱ्याउँछ। नत्र भने यसरी म जस्तै धेरै आन्दोलनकारीहरूले कोर्ट धाउनु परिरहन्छ।'
हिन्दुस्थान समाचार / हनोक