खरसाङ नगरपालिकाका अवकाशप्राप्त कर्मचारीहरुद्वारा पेन्शन र ग्रेच्युटीको माग गर्दै धरना प्रदर्शन शुरु
खरसाङ नगरपालिकाका अवकाशप्राप्त कर्मचारीहरुद्वारा पेन्शन र ग्रेच्युटीको माग गर्दै धरना प्रदर्शन शुरु


खरसाङ, 27 मई (हि.स.)। खरसाङ नगरपालिकाका अवकाशप्राप्त कर्मचारीहरुले पेन्शन र ग्रेच्युटीको माग गर्दै आजदेखि खरसाङ नगरपालिका कार्यालयअघि धरना प्रदर्शन शुरु गरेका छन्।

केही दिनअघि खरसाङ नगरपालिकाका अवकाशप्राप्त कर्मचारीहरुले अवकाशपछि सरकारी सहुलियतहरु नपाएको भन्दै नगरपालिकामा ज्ञापन बुझाएका थिए। उक्त ज्ञापनपछि पनि कुनै उत्तर नआएपछि खरसाङ नगरपालिकाको अवकाशप्राप्त कर्मचारी संगठनले‌ विभिन्न आन्दोलनको घोषणा गरेको थियो। त्यही अनुसार हिजो सोमवार खरसाङ नगरपालिका परिसर र खरसाङ बजारमा पोस्टरिङ गरिएको थियो भने आजदेखि खरसाङ नगरपालिका कार्यालयअघि धरना प्रदर्शन शुरु गरिएको छ।

अवकाशप्राप्त कर्मचारीहरुले आफ्नो माग पूरा नभएसम्म लगातार रुपमा धरना आयोजना गरिरहने जानकारी गराएका छन्। उनीहरूले अब प्रत्येक एक दिन बिराउँदै लगातार रुपमा धरना प्रदर्शन र नाराबाजी गर्ने भएको थाहा लागेको छ।

धरना प्रदर्शन विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ नगरपालिकाको अवकाशप्राप्त कर्मचारी संगठनका संयुक्त सचिव प्रितमकुमार छेत्रीले अवकाशप्राप्त कर्मचारी संगठनको तर्फबाट पूर्व घोषित कार्यक्रम अनुसार नै आज खरसाङ नगरपालिका कार्यालयअघि धरना प्रदर्शन र नाराबाजी गरेको बताए। उनले हिजो खरसाङ नगरपालिका कार्यालयअघि र खरसाङ बजारमा पोस्टरिङ गरिएको थियो भने आजदेखि नगरपालिका कार्यालयअघि धरना प्रदर्शन र नाराबाजी शुरु गरिएको बताए। उनले आफ्नो माग पूरा नभएसम्म धरना जारी रहने बताए। उनले यो धरना एक दिन बिराएर गरिने पनि जानकारी गराएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande