खरसाङ, 27 मई (हि.स.)। भारतीय नेपाली साहित्यको वरिष्ठ साहित्यकार एवं नियात्राकार सलोन कार्थकलाई नेपालको काठमाडौंमा प्रदिक ढकाल नियात्रा सौरभ पुरस्कार प्रदान गरिएको छ। पर्वतीय साहित्य समाज काठमाण्डौंको जयन्ता पवित्र ढकाल स्मृति कोषद्वारा प्रत्येक वर्ष नियात्रा विधाका कीर्तीमानी स्रष्टाहरुलाई प्रदान पुरस्कृत गर्दै आएको प्रतिक ढकाल नियात्रा सौरभ पुरस्कार 2082 नियात्रा साहित्यको विकासमा निरन्तर समर्पित स्रष्टा सलोन कार्थकलाई मंगलवार काठमाडौंमा एक कार्यक्रमबीच प्रदान गरिएको छ।
उनलाई पुरस्कार स्वरूप खदार्पणसहित शल ओढाएर, टोपी पहिराएर, सम्बर्द्धना पत्र र स्मृति चिन्ह लगायत नगदराशि नेपाली रुपियाँ 51 हजार प्रदान गरिएको छ। प्रदिक ढकाल नियात्रा सौरभ पुरस्कार भारतीय नेपाली साहित्यका साहित्यकारको रुपमा सलोन कार्थकलाई प्रथमपल्ट प्रदान गरिएको छ। उनले विगत धेरै वर्षदेखि निरन्तर रुपमा नियात्रा विधामा कलम चलाउँदै धेरैवटा नियात्रा संग्रहहरु प्रकाशित गरिसकेकाले उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो।
उक्त प्रदिक ढकाल नियात्रा सौरभ पुरस्कार 2082 को लागि स्रष्टा सलोन कार्थकले आयोजक समितिलाई धन्यवाद दिॅंदै पुरस्कार पाएकोमा खुशी व्यक्त गरेका छन्। उनले भारतीय लेखकलाई पनि स्वीकार गरेर मान्यता दिॅंदै यसरी पुरस्कार प्रदान गरेकोमा खुशी व्यक्त गरेका छन्। भारतीय नेपाली साहित्यका वरिष्ठ साहित्यकार सलोन कार्थकले लामो समयदेखि नियात्रा विधामा कलम चलाउँदै आइरहेका छन्।
उनका नियात्रा संग्रहहरु क्रमैले -'समुद्रपारि (यात्रा संस्मरण)-1976, पदयात्रा गाउँको फन्को विदेशको (नियात्रा) 2000, विश्व एउटा पल्लो गाउँ (नियात्रा )2013 र गोलार्ध्द घुमाईका रङ्हरु(नियात्रा)2017 आदि प्रकाशित छन्। उनको नियात्रा संग्रह 'विश्व एउटा पल्लो गाउँ' ले वर्ष 2017 को साहित्य अकादमी पुरस्कार प्राप्त गरेका थिए।
नियात्राबाहेक पनि हस्तान्तरण (कथा सङ्ग्रह) 1996, पादरी गंगाप्रसाद प्रधानको जीवन बखान (जीवनी) 2001 र पादरी गंगाप्रसाद प्रधानको उपलब्धि र रचनावली (संकलन) 2007 प्रकाशित छन्। साहित्यकार सलोन कार्थकले 1992 मा स्रष्टा पुरस्कार, 2011 मा पारसमणि प्रधान स्मृति पुरस्कार, 2017 मा साहित्य अकादमी पुरस्कार पनि अघिबाटै प्राप्त गरिसकेका छन्।
हिन्दुस्थान समाचार / हनोक