खरसाङ, 28 मई (हि.स.)। खरसाङ नगरपालिकाका विभिन्न समस्या र मुद्दाहरुमाथि चर्चा गर्नलाई आज गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा र खरसाङ नगरपालिकाको बोर्ड अफ् एडमिनिस्ट्रेशनमाझ बैठक सम्पन्न भयो। बैठकमा खरसाङ महकुमा शासक आईएएस बिन्दबासिनी तेजा दिपक, खरसाङ नगरपालिकाको बोर्ड अफ् एडमिनिस्ट्रेशनका चेयरम्यान ब्रिगेन गुरुङ, भाइस चेयरम्यान सुवास प्रधान लगायत सम्बन्धित अधिकारीहरु र सभासदहरूको पनि उपस्थिति रहेको थियो।
बैठकमा खरसाङ नगरपालिकाका विभिन्न समस्याहरु र कार्यहरु विषयमा चर्चा गरिनुका साथै निणर्यहरू लिइएको जानकारी प्राप्त भएको छ। यस बैठकमा विशेष गरेर मनसुनको तयारी र आपदा व्यवस्थापन विषयमा चर्चा गरियो। यस अन्तर्गत आगामी वर्षालाई ध्यानमा राखेर नगरपालिकाले मनसुन सेल (डिजास्टर म्यानेजमेन्ट टिम) गठन गरेको छ। वर्षाको कारण उत्पन्न हुने सबै प्रकारका समस्याहरू समाधान गर्न अनि समस्याहरूको मनिटरिङ गर्न समर्पित सहयोग केन्द्र स्थापना गर्ने निर्णय गरिएको छ।
बैठकमा स्वास्थ्य सेवामा विस्तार विषयमा चर्चा गर्दै राष्ट्रिय शहरी स्वास्थ्य मिशन (नेशनल अर्वन हेल्थ मिशन) योजना अन्तर्गत नयाँ शहरी प्राथमिक स्वास्थ्य केन्द्र (अर्वन प्राइमेरी हेल्थ सेन्टर) योजना पहिले नै स्वीकृत भइसकेको छ। यो काम चाँडै वार्ड नम्बर 13 मा शुरु हुने भएको छ। यो योजनाले खरसाङ महकुमा अस्पतालमाथि आउने भारलाई केही हदसम्म घटाउने अपेक्षा गरिएको छ।
उक्त बैठकमा जीटीए प्रमुख अनित थापाको निर्देशनमा कट्लेरीमा एउटा नयाँ स्वास्थ्य केन्द्र स्थापना हुने भएको छ। यसले न केवल शहरी जनताको तर ग्रामीण क्षेत्रको आवश्यकतालाई पनि पूरा गर्ने बताइएको छ। बैठकमा जीटीए प्रमुख अनित थापाले स्वास्थ्य विभागलाई आशा कर्मचारीहरुको संख्या 18 बाट 28 सम्म बढाउन निर्देशन दिए। नयाँ जल उपचार संयन्त्र बस टर्मिनल नजिकै बन्ने भएको बताइएको छ।
हाउजिङ फर् अल योजनाका लाभार्थीहरूको जियो ट्यागिङ गर्ने कार्य आगामी 15 दिन भित्रमा गरिसक्नु पर्ने थापाले निर्देशन दिएका छन्। उनले भने, त्यसपछि नियमानुसार लाभार्थीहरुले पाउने सहुलियत पाउनेछन्। यो समस्या साह्रै लम्बिएर गएको छ। लाभार्थीहरुले घर पाउनु उनीहरूको हक अनि अधिकार हो। यसको चाँडोभन्दा चाँडो हल हुनु पर्नेछ। टेक्निकल समस्या देखाएर मात्र मानिसको समस्या समाधान हुँदैन।
बैठकमा खरसाङ नगरपालिकाका अवकाशप्राप्त कर्मचारीहरुको पेन्सन समस्या विषयमा पनि चर्चा परिचर्चा गरिएको छ। यस विषयमा जीटीए प्रमुख अनित थापाले बैठकमा जानकारी दिँदै भने, अवकाशप्राप्त नगरपालिकाका कर्मचारीहरुको रोकिएको पेन्सनको समस्या खरसाङ नगरपालिकाको मात्र नभएर सम्पूर्ण राज्यको समस्या हो। भूतपूर्व कर्मचारीहरुले आफ्नो पसिना बगाएको रकम हराउन दिनेछैनौं। उनीहरूले न्याय पाउनेछन्।
हिन्दुस्थान समाचार / हनोक