प्रधानमन्त्री नरेन्द्र मोदीको‌‌ सिक्किम भ्रमणलाई क्रामाकपाद्वारा स्वागत
प्रधानमन्त्री नरेन्द्र मोदीको‌‌ सिक्किम भ्रमणलाई क्रामाकपाद्वारा स्वागत


— नरेन्द्र मोदीकै कार्यकालमा गोर्खाहरुले‌ 11 जनजातिको मान्यता पाउने विश्वास छ: अरुण घतानी

खरसाङ, 28 मई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीको भोलि उत्तर बंगालको अलिपूरद्वार अनि सिक्किम भ्रमण कार्यक्रम विषयमा क्रामाकपाले प्रेस विज्ञप्ति जारी गर्दै आजको राजनीतिक परिस्थितिमा प्रधानमन्त्रीको परिभ्रमण अति नै महत्त्वपूर्ण रहेको बताएको छ। क्रामाकपाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत् जनाउॅंदै 2014 मा अलिपूरद्वारबाट नै चुनावी जनसभालाई सम्बोधन गर्दै गोर्खा समूदायका 11 छुटेका जात गोष्ठीलाई जनजातिको मान्यता दिने प्रतिश्रुति दिएको, तर आज 11 वर्ष पुग्दासम्म पनि पूरा हुनु नसकेको उल्लेख गरेको छ।

क्रामाकपा प्रवक्ता अरुण घतानीले सिक्किम 22औं राज्यको रूपमा समावेश भएको 50 औं वर्षगाँठको उपलक्ष्यमा सिक्किमेली जनता साथै सिक्किम राज्य सरकारलाई क्रामाकपाको पक्षबाट हार्दिक बधाई अनि शुभकामना व्यक्त गरेका छन्। उनले सिक्किमका मुख्यमन्त्री प्रेमसिंह गोलेलाई पार्टीले आज पत्राचार गरेको पनि जानकारी गराएका छन्। उक्त पत्रमा सिक्किम सरकारले राज्य र राज्यवासीको सामाजिक, शैक्षिक, आर्थिक र राजनीतिक विकास गर्दै देशको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै जानेछ भन्ने विश्वास व्यक्त गरिएको छ।

क्रामाकपाले पत्रमा देशका प्रधानमन्त्रीले यस भ्रमण अवधि गोर्खा जातिको दीर्घकालीन समस्याहरूबारे ठोस सन्देश दिनेछन् भन्ने पनि विश्वास व्यक्त गरेको छ। प्रवक्ता घतानीले भने, 'बंगालमा वर्षौंदेखि चरम जातिवादी तथा साम्प्रदायिक भेदभावको शिकार तथा राष्ट्रिय पहिचानको संकटमा सयौं वर्षदेखि संघर्षरत् गोर्खा जातिप्रति भारत सरकारले न्याय गर्नु पर्ने समय आएको छ। देशको एकता-अखण्डता र रक्षाको निमित्त देशको सीमामा छात्ती थाप्ने देशभक्त गोर्खा जातिलाई न्याय गर्न बिलम्व नगरियोस् भन्ने आह्वान गर्दछौं।'

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande