मानिसहरुलाई ट्राफिक कोणभित्र हिड्न अपील, चालकहरुले ट्राफिक कोणभित्र गाडी रोक्न नपाउने
मानिसहरुलाई ट्राफिक कोणभित्र हिड्न अपील


खरसाङ, 28 मई (हि.स.)। खरसाङ बजारमा ट्राफिक व्यवस्थापनका लागि ट्राफिक पुलिसले राखेको ट्राफिक कोणभित्रबाट मानिसहरुलाई हिड्न निवेदन गरिएको छ भने चालकहरुलाई ट्राफिक कोणभित्र गाडीहरु नरोकिदिन निर्देश दिइएको छ। खरसाङ ट्राफिक पुलिसका प्रभारी बीरेन्द्र छेत्रीले पत्रकारहरुसित कुराकानी गर्दै ट्राफिक पुलिस कोणको महत्व बुझेर मानिसहरूलाई कोणभित्रबाट हिड्ने निवेदन गरेका छन्।

उनले खरसाङ बजारमा ट्राफिक व्यवस्थापनका लागि सम्पूर्ण मानिसहरुलाई ट्राफिक कोणभित्रबाट हिड्नु आह्वान गरेका छन्। उनले कोणभित्रपट्टि स्कूटी र बाइकहरु रोक्न पाइने छैन भन्दै यदि कोणभित्र पार्किङ गरिएको भेटिए कारबाही गरिने पनि बताएका छन्‌। उनले कोणदेखि बाहिरपट्टि हिड्दा दुर्घटना हुन सक्ने सम्भावना रहने बताए।

उनले बाइक र स्कूटीहरु पार्किङको लागि पुरानै स्थल पोस्ट अफिस नजिक, अस्पताल मोड नजिक, गड्डी लाइनको गल्ली, पंखाबारी रोड क्षेत्र, जगदीस मन्दिरको चेप क्षेत्र निर्धारित रहेको बताए भने आपातकालीन अवस्थामा मन्टिभियट रोडको क्याम्ब्रिज स्कूल मुन्तिर केही समयको लागि पार्किङ गर्न सक्ने बताए। त्यसरी नै हिल कार्ट रोड क्षेत्रमा पनि कोणभित्र केही समयको लागि मात्र रोक्न सकिने अनि वर्ध्दमान रोडमा पनि तोकिएको समयभन्दा बेसी रोक्न नपाइने बताए।

ट्राफिक पुलिस प्रभारी बीरेन्द्र छेत्रीले हिल कार्ट रोडमा आवश्यक सेवाका गाडीहरु जस्तै ग्यासको गाडी, विद्युत विभागको गाडी लगायत अन्य आवश्यक सेवाका गाडीहरु तोकिएको समयभित्र राख्नु पर्ने र तोकिएको समयभन्दा बेसी समयसम्म राख्न नपाइने बताए। उनले खरसाङ बजारको हिल कार्ट रोड, पंखाबारी रोड लगायत धोबी खोलादेखि टुरिस्ट लजसम्म कुनै पनि गाडीले अनलोड गर्न परेमा बिहान 8 बजी अघि र बेलुका 7:30 बजी पछिको समयावधिमा सो कार्य गर्नुपर्ने बताएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande