गान्तोक, 28 मई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीको सिक्किम भ्रमणको तयारीको जायजा लिन मुख्यमन्त्री प्रेमसिंह तामाङले दुई पटक पाल्जोर स्टेडियमको भ्रमण गरिसकेका छन्। सिक्किम राज्य स्थापनाको 50 औं वर्षागाँठको अवसरमा देशका प्रधानमन्त्री नरेन्द्र मोदी भोलि अर्थात बिहिवार सिक्किम आइरहेका छन्। यस अवसरमा राजधानीस्थित पाल्जर स्टेडियममा एक भव्य कार्यक्रमको आयोजना गरिने भएको छ।
उक्त कार्यक्रमको तयारीको जायजा लिन आज मुख्यमन्त्री तामाङले कार्यक्रमस्थलको निरीक्षण गरे। प्रधानमन्त्रीको भ्रमणलाई सफल तुल्याउन सबैको सामूहिक जिम्मेवारीमा जोड दिएका छन्। प्रधानमन्त्रीको कार्यक्रमलाई भव्यताका साथ सफल पार्न उनले सम्बन्धित विभागका अधिकारीहरूलाई आवश्यक निर्देश दिए।
उल्लेख्य, प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि पाल्जोर स्टेडियमबाट नाम्ची जिल्लामा नवनिर्मित पाँच सय पलङयुक्त जिल्ला अस्पताल, गेजिङ जिल्ला अन्तर्गत पेलिङको साङ्गाछोइलिङ यात्रीवाहक घिर्लिङ र गान्तोक जिल्ला अन्तर्गत साङखोलाको अटल अमृत उद्यान, भारत रत्न अटलबिहारी वाजपेयीको सालिग लगायतका विविध विकास परियोजनाको शिलान्यास एवं उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
सोही प्रकारले प्रधानमन्त्रीले सिक्किम राज्य स्थापनाको गौरवमय 50औं वर्षको अवसरमा स्मारक मोहर, स्मृति सिक्का अनि मुद्राङ्क पनि लोकार्पण गर्नेछन्।
निरीक्षणको क्रममा मुख्यमन्त्रीको साथमा मन्त्रीमण्डलका सदस्यहरू, विधायकगण, मुख्यमन्त्रीका राजनीतिक सचिवहरू, मुख्य प्रशासक, मुख्य सचिव, पुलिस महानिर्देशक लगायत अन्य अधिकारीहरू पनि सामेल रहेका थिए।
हिन्दुस्थान समाचार / प्रदीप