गान्तोक, 28 मई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत जनाउन सिक्किम राज्य पूर्ण रूपमा तयार छ। प्रधानमन्त्री भोलि, बिहिवार बिहान सिक्किम आइपुग्ने छन्। प्रधानमन्त्रीले राजधानीको पाल्जोर स्टेडियमबाट सिक्किमका जनतालाई सम्बोधन गर्नेछन् भने विभिन्न पूर्वाधारहरूको लोकार्पण पनि गर्नेछन्।
उल्लेखनीय छ, सिक्किम राज्यले आफ्नो स्थापनाको 50औं वर्ष पूरा गरेको छ। यस ऐतिहासिक अवसरलाई मनाउन सिक्किम सरकारले वर्षव्यापी समारोह आयोजना गर्ने घोषणा गरेको छ। यस क्रममा भोलि राजधानीको पाल्जोर स्टेडियममा एक भव्य समारोह प्रस्तावित छ। समारोहमा देशका प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष उपस्थिति रहनेछ।
प्रधामन्त्री मोदीलाई स्वागत जनाउन सिक्किम राज्यले आफ्नो तयारी पूरा गरेको छ। राजधानी गान्तोकलाई आकर्षक ढङ्गमा सजाइएको छ। राजधानीका सबै ठूला-साना बाटाहरूलाई सफा गरेर दुवैतिर देशको राष्ट्रिय झण्डा र फूलहरू लगाउने कार्य गरिएको छ। सडकका भित्ताहरूलाई पनि भित्तिचित्रहरूद्वारा आकर्षक बनाइएको छ। ठाउॅं-ठाउॅंमा होर्डिङ र बोर्डहरू लगाएर प्रधानमन्त्रीलाई स्वागत जनाइएको छ।
मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले मिडियाकर्मीहरूसॅंग कुराकानी गर्दै प्रधानमन्त्री नरेन्द्र मोदी भोलि बिहान 9 बजी लिबिङस्थित भारतीय सेनाको हेलीप्याडमा आइपुग्ने जानकारी गराए। हेलीप्याडबाट प्रधानमन्त्री राष्ट्रिय राजमार्ग 10 अन्तर्गत देवराली, पानी हाउस, गान्तोक, हस्पिटल डॉंड़ा, रांका ट्याक्सी स्ट्याण्ड हुॅंदै कार्यक्रम स्थल पाल्जोर स्टेडियम पुग्नेछन्।
उनले यस अवधि सिक्किमका 21 जातिले आ-आफ्नो पारम्परिक भेषभूषामा आफ्नो पारम्परिक वाद्यवादन बजाउॅंदै ठॉंउ-ठॉंउमा प्रधानमन्त्री मोदीलाई स्वागत जनाउने छन् भनी बताए। उनले मानिसहरूलाई बिहान आठ बजी भन्दा अगाडि नै पाल्जोर स्टेडियममा आइपुग्न आग्रह गरे भने आठ बजीदेखि राजधानीमा आपातकालिन सेवाहरू बाहेक अन्य सबै वाहनहरूको चलाचल ठप रहने जानकारी गराए। उनले प्रधानमन्त्रीको सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय लिइएको बताए।
उनले पाल्जोर स्टेडियममा सिक्किमका तीन मूलवासी लेप्चा, भोटिया र नेपाली लगायत देशका विभिन्न समुदायहरूको सांस्कृतिक झलक प्रस्तुत गर्ने कार्यक्रम रहेको अवगत गराए। कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङले स्वागत सम्बोधन राख्नेछन् भने प्रधानमन्त्री मोदीको भाषण मुख्य कार्यक्रम रहने बताए। उनले सिक्किम प्रधानमन्त्रीलाई स्वागत जनाउन तयार रहेको र सिक्किमका जनता पनि उत्साहित रहेको बताए।
हिन्दुस्थान समाचार / बिशाल